दमौली (तनहुँ) । कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनलाई व्यावसायिक बनाउने उद्देश्यले तनहुँमा पहिलोपटक पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रमले किसानको गोठ सुधारदेखि आधुनिक उपकरण र उन्नत प्रजनन पशु उपलब्ध गराउनेसम्मका कामलाई प्राथमिकता दिएको छ।
कार्यक्रमका लागि विनियोजन गरिएको ६० लाख रुपैयाँमध्ये ५८ लाख ८० हजार रुपैयाँ खर्च भएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए। उनका अनुसार कालीगण्डकी करिडोर आसपासका क्षेत्रमा पशुपालन व्यवसायको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै किसानलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमअन्तर्गत दुईवटा गाईभैँसीपालक समूह तथा सहकारीमार्फत आठवटा नयाँ गोठ निर्माण गरिनुका साथै ३७ वटा गोठ मर्मत तथा सुधार गरिएको छ। दूधको गुणस्तर कायम राख्न तथा सङ्कलन र व्यवस्थापनलाई सहज बनाउन डिपफ्रिज, मिल्क एनालाइजर र चिलिङ भ्याटसमेत उपलब्ध गराइएको छ।
किसानलाई दूध सङ्कलन तथा ढुवानीका लागि ७५ थान स्टिल क्यान, पशुको आहार व्यवस्थापनका लागि २५ थान ग्रास कटर र पशुको स्वास्थ्य तथा आरामका लागि ९५ थान काउम्याट प्रदान गरिएको छ। त्यस्तै नश्ल सुधार तथा उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले एउटा प्रजनन राँगोसमेत वितरण गरिएको छ।
बाख्रापालनतर्फ पनि कार्यक्रमले पूर्वाधार र नश्ल सुधारलाई प्राथमिकता दिएको छ। बाख्रापालक कृषक सहकारीमार्फत २३ वटा नयाँ खोर निर्माण गरिएको छ भने दाना तथा घाँस व्यवस्थापनका लागि एउटा कम्बाइन मिल र एउटा चापकटर उपलब्ध गराइएको छ। उत्पादन क्षमता बढाउने लक्ष्यसहित आठवटा प्रजनन बोका समेत सहयोग गरिएको केन्द्रले जनाएको छ।
कार्यक्रमबाट ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका ६९ जना किसान प्रत्यक्ष लाभान्वित भएका छन्। पशुपालनका लागि आवश्यक पूर्वाधार, आधुनिक उपकरण र प्रजनन पशुमा गरिएको सहयोगले किसानलाई उत्पादनमुखी र व्यावसायिक पशुपालनतर्फ अघि बढाउन आधार तयार गरेको केन्द्रको भनाइ छ।
प्राविधिक ठकुरीका अनुसार स्थानीय स्रोतसाधनको प्रभावकारी प्रयोग र आधुनिक प्रविधिको अवलम्बनबाट उत्पादन लागत घटाउँदै किसानको आम्दानी बढाउन सकिन्छ। सुधारिएको गोठ, नश्ल सुधार, आहार व्यवस्थापन तथा दूध सङ्कलनसम्बन्धी पूर्वाधारले पशुपालनलाई थप व्यवस्थित र बजारमुखी बनाउन सहयोग गर्ने उनको भनाइ छ।
कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनको पर्याप्त सम्भावना रहेकाले पहिलोपटक सञ्चालन गरिएको यस कार्यक्रमलाई स्थानीय उत्पादन र किसानको आयआर्जनसँग जोडिएको पहलका रूपमा हेरिएको छ। उत्पादन, पूर्वाधार र बजार व्यवस्थापनलाई निरन्तरता दिन सके करिडोर आसपासको पशुपालन व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन सकिने अपेक्षा गरिएको छ।