काठमाडौं । त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको घटनालाई लिएर यातायात कम्पनी र ट्राफिक प्रहरीबीच आरोप–प्रत्यारोप सुरु भएको छ। यातायात कम्पनीले ट्राफिक प्रहरीको ‘ज्यादती’का कारण चालकले आक्रोशमा आएर बसमा आगो लगाएको दाबी गरेको छ भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि यात्रु चढाउने–ओराल्ने प्रयोजनका लागि बस बिसौनीमा रोकिएको अवस्थामा बसमा आगलागी भएको थियो। घटनापछि सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष तथा ऋद्धिसिद्धी यातायातका मुख्य सल्लाहकार नीर कार्कीले ट्राफिक प्रहरीसँग भनाभन भएपछि चालक दावा लामाले यात्रुलाई बसबाट ओरालेर आगो लगाएको दाबी गरेका छन्।
कार्कीका अनुसार यात्रु चढाउने–ओराल्ने क्रममा चालकले हर्न बजाएको विषयमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले लामालाई गाली गरेका थिए। काठमाडौं उपत्यकाका सार्वजनिक सडकमा हर्न निषेधित रहेकाले निषेधित कार्य गरेको भन्दै ट्राफिक प्रहरीले चिट काट्ने बताएपछि चालकले यात्रुलाई बसबाट ओरालेको र त्यसपछि आगो लगाएको उनको भनाइ छ।
तर, उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने यातायात कम्पनीको दाबी अस्वीकार गरेको छ। कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार चालकले बसको ढोका थुनेर भित्रै आगो लगाएका थिए। आगो लागेको देख्नासाथ चालकलाई बचाउन प्रारम्भिक रूपमा ट्राफिक प्रहरी नै घटनास्थल पुगेको उनले बताए।
एसपी सुवेदीले ट्राफिक प्रहरीकै कारण चालकले बसमा आगो लगाउनुपरेको भन्ने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको स्पष्ट पारे। घटनाबारे विस्तृत रूपमा बुझ्ने काम भइरहेको उनको भनाइ छ।
उनका अनुसार कुनै पनि सवारी चालकले निषेधित कार्य गरेमा ट्राफिक प्रहरीले सचेत गराउने तथा आवश्यकताअनुसार कारबाही गर्ने अधिकार राख्छ। तर, त्रिपुरेश्वरको घटनामा वास्तविक रूपमा के–कस्तो परिस्थिति सिर्जना भयो भन्ने विषयमा थप अनुसन्धान तथा बुझाइपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।
बसमा आगजनी भएको घटनाले सार्वजनिक यातायात सञ्चालनका क्रममा चालक र ट्राफिक प्रहरीबीच हुने व्यवहार, नियम कार्यान्वयन तथा विवाद व्यवस्थापनको विषयलाई समेत पुनः बहसमा ल्याएको छ। घटनाको वास्तविक कारणबारे प्रहरी तथा सम्बन्धित पक्षबाट थप विवरण आउन बाँकी छ।