काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **‘चमेलीको पोइ’**को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको पौने चार मिनेट लामो ट्रेलरमा मायाप्रेम, आसक्ति, दाम्पत्य जीवनका उतारचढाव, विश्वास, घात तथा मानवीय सम्बन्धका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ ।
हाँसो र भावनाको मिश्रण देखिने ट्रेलरले पारिवारिक सम्बन्धलाई कथाको केन्द्रमा राखेको संकेत गर्छ । दर्शकलाई हँसाउँदै भावुक बनाउने दृश्यसँगै सम्बन्धभित्र उत्पन्न हुने विश्वास र अविश्वासका प्रसङ्गलाई पनि ट्रेलरमा समेटिएको छ । चलचित्र असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
निर्देशक बोहराले ‘चमेलीको पोइ’ विशुद्ध मनोरञ्जनात्मक चलचित्र भएको बताए । दर्शकलाई करिब साढे दुई घण्टा मनोरञ्जन दिने उद्देश्यले चलचित्र निर्माण गरिएको उल्लेख गर्दै उनले चलचित्रले भावनात्मक रूपमा पनि दर्शकको मन छुने विश्वास व्यक्त गरे ।
१८ वर्षपछि नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन
चलचित्रको अर्को आकर्षण चर्चित हास्य अभिनेता नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन हो । करिब १८ वर्षपछि यही चलचित्रमार्फत अभिनयमा फर्किएका त्रिपाठीले ‘चमेलीको पोइ’बाट आफू निकै आशावादी रहेको बताए ।
अमेरिकामा आयोजित विशेष प्रदर्शनबाट दर्शकको माया र साथ पाएपछि आफू थप उत्साहित भएको उनले बताए । दुई दशकअघिसम्म ‘प्रेमचरो’ उपनामले चलचित्र तथा सानो पर्दामा चर्चित त्रिपाठी अमेरिका गएपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए ।
त्रिपाठीले नेपाली चलचित्रमा पुनः निरन्तर अभिनय गर्ने इच्छा रहेको पनि बताए ।
अभिनेता मुकुनले ‘चमेलीको पोइ’ले दर्शकलाई भरपूर हँसाउनुका साथै केही दृश्यमा गम्भीर पनि बनाउने बताए । उनले आफूले यसअघि यति फरक शैलीको कमेडी चलचित्रमा काम गर्ने अवसर नपाएको उल्लेख गरे ।
अर्का अभिनेता विल्सन विक्रम राईले चलचित्र मनोरञ्जनले भरिपूर्ण रहेको बताए । उनले नारायण त्रिपाठीसँग बाल्यकालमै ‘साथी’ चलचित्रमा स्क्रिन सेयर गरेको स्मरणसमेत गरे । यही चलचित्रबाट ठूलो पर्दामा यात्रा सुरु गरेका **उमेश राई (फुलन्देकी आमा)**ले पनि चलचित्रप्रति आफू आशावादी रहेको बताए ।
सुरक्षालाई मन परेको कथा र चरित्र
अभिनेत्री सुरक्षा पन्तले निर्देशक बोहरासँग ‘भैरे’पछि दोस्रोपटक सहकार्य गरेको बताइन् । आफूले खोजेजस्तै कथा, परिवेश, पात्र र चरित्रमा काम गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन् ।
मुकुन र नारायण त्रिपाठीजस्ता अनुभवी कलाकारसँग अभिनय गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै पन्तले ‘चमेलीको पोइ’ हरेक कोणबाट मनोरञ्जनात्मक चलचित्र बनेको दाबी गरिन् ।
निर्माता रामनारायण उपाध्यायले दर्शकलाई मनोरञ्जन दिने उद्देश्यसहित चलचित्र निर्माण गरिएको बताए । चलचित्रमा सामाजिक सद्भाव र पारिवारिक प्रेमको कथालाई समेत समेटिएको उनले जानकारी दिए ।
बलियो कलाकार टोली
शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रको लेखनमा निर्देशक बोहरालाई शिवम अधिकारीले सहयोग गरेका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, मुकुन, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, उमेश राई, अंशु महर्जन, बाबिन राई, तारा शर्मा, खड्गबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएल शाही, रितु मल्ल ठकुरी र श्रेया नारायणलगायत कलाकारको अभिनय छ ।
सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा उदयविक्रम राणा, रितु मल्ल ठकुरी, सुमीत्रा थापा र कपिल आचार्य छन् । धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर तथा नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह–निर्माता रहेका छन् ।
चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । आरआर फिल्म्सले चलचित्रलाई देशव्यापी वितरण गर्नेछ ।
ट्रेलरमा देखाइएको प्रेम, हास्य, पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावका कारण ‘चमेलीको पोइ’ प्रदर्शनअघि नै दर्शकमाझ चासोको चलचित्र बनेको छ ।