अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा महामन्त्री गगनकुमार थापाको विकल्प नरहेको बताउनुभएको छ। उहाँले आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्दै पार्टीभित्रका गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले मंगलबार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपसभापति भुसालले भन्नुभयो, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन। १५औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ। आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नुपर्छ।”
पूर्वउपसभामुखसमेत रहनुभएकी भुसालले लामो राजनीतिक संघर्षबाट प्राप्त लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरू पनि आन्तरिक रूपमा सुदृढ र लोकतान्त्रिक हुनुपर्नेमा जोड दिनुभयो।
जेनजी आन्दोलनपछि बनेको नयाँ राजनीतिक समीकरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकार सञ्चालनको जिम्मेवारीमा पुर्याएको उल्लेख गर्दै भुसालले वर्तमान सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राख्नुभयो। यद्यपि, सरकारका गतिविधि हेर्दा जनताले रास्वपालाई विश्वास गरे पनि मुलुक सञ्चालन गर्ने नेतृत्वमा अपरिपक्वता देखिएको उहाँको टिप्पणी थियो।
“सरकार हाँक्नेहरू जेनजीको भावना र देशको आवश्यकताअनुसार अगाडि बढ्न सक्नुपर्छ। नेतृत्वले आफूलाई सक्षम बनाउन नसक्ने र विपक्षीले दिएका सकारात्मक सुझावसमेत स्वीकार नगर्ने हो भने देश फेरि द्वन्द्वमा जान सक्ने खतरा रहन्छ,” उहाँले भन्नुभयो।
नेत्री भुसालले रास्वपाभित्र आन्तरिक कलह उत्पन्न हुन नदिनसमेत सुझाव दिनुभयो। राजनीतिक दलभित्रको अस्थिरता र आपसी द्वन्द्वले समग्र मुलुकको राजनीतिक स्थिरतामा असर पार्न सक्ने उहाँको भनाइ थियो।
कांग्रेसलाई अहिले जनताले प्रतिपक्षमा बस्ने जनादेश दिएको स्पष्ट पार्दै भुसालले तत्काल सरकारमा जाने पार्टीको कुनै योजना नरहेको बताउनुभयो। उहाँले बलियो प्रतिपक्षका रूपमा सरकारका सकारात्मक काममा समर्थन गर्ने र गलत कदमको खुलेर विरोध गर्ने स्पष्ट पार्नुभयो।
“जनताले हामीलाई अहिले प्रतिपक्षको म्यान्डेट दिएका छन्। त्यसैले हामी सरकारमा जाने योजनामा छैनौँ। बलियो प्रतिपक्षको हैसियतले सरकारका राम्रा काममा समर्थन गर्छौँ र गलत कदमको खुलेर विरोध गर्छौँ,” उहाँले भन्नुभयो।
कांग्रेसको अहिलेको मुख्य जिम्मेवारी आन्तरिक समस्या समाधान गर्दै संगठनलाई बलियो बनाउनु र पार्टीलाई पुनः जनताको पार्टीका रूपमा स्थापित गर्नु रहेको भुसालले बताउनुभयो।
१५औँ महाधिवेशनको प्रमुख कार्यदिशामध्ये अग्रजलाई सम्मान गर्दै युवालाई जिम्मेवारी दिनु रहेको उहाँको भनाइ थियो।पूर्वसभापति शेरबहादुर देउवालाई ससम्मान अभिभावकको भूमिकामा स्वीकार गर्न आफूहरू तयार रहेको बताउँदै भुसालले भन्नुभयो, “अग्रजलाई सम्मान र युवालाई जिम्मेवारी दिने नीति अहिलेको आवश्यकता हो। शेरबहादुर देउवालाई ससम्मान अभिभावक मान्न हामी तयार छौँ र उहाँले पनि यसलाई स्वीकार गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”
उहाँले कांग्रेसलाई आन्तरिक रूपमा बलियो बनाउँदै लोकतान्त्रिक मूल्य, राजनीतिक स्थिरता र मुलुकको विकासका मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार नवीन केसीले स्वागत मन्तव्य दिनुभएको थियो भने पत्रकार वीरेन्द्र केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।