काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने र नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढ्ने जनाएको छ। महाशाखाले विशेष बुलेटिन जारी गर्दै जोखिमयुक्त तथा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
महाशाखाका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलाको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आवश्यक छ। अविरल वर्षा भइरहेका तथा हुने सम्भावना रहेका क्षेत्रमा साना नदी, खोला र जलाधारमा पानीको बहाव अचानक बढ्न सक्ने चेतावनी दिइएको छ।
बुधबार १८ जिल्लाका नदी–खोलामा जोखिम
बुधबार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर र खोटाङ भएर बहने नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन र नवलपरासी (पूर्व) लगायतका जिल्लाका साना नदी तथा खोलामा समेत जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ।
बिहीबार पाँच प्रदेशमा आकस्मिक बहाव बढ्न सक्ने
महाशाखाको विश्लेषणअनुसार बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश भएर बहने केही साना नदी तथा खोलामा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ।
त्यसैगरी शुक्रबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साना नदी तथा खोलामा समेत आकस्मिक बाढीको जोखिम बढ्न सक्ने बुलेटिनमा उल्लेख छ।
नदी किनार र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी
सम्भावित भारी वर्षा र बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि महाशाखाले नदी तथा खोला आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले नदी किनारमा अनावश्यक रूपमा नजान, जोखिमयुक्त स्थानमा बसोबास भए सुरक्षित स्थानतर्फ जान तथा वर्षाका बेला साना नदी र खोलाको बहावलाई सामान्य ठानेर पार गर्न खोज्न नहुने जनाएको छ। स्थानीय तह तथा सम्बन्धित निकायलाई समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।