काठमाडौँ । त्रिपुरेश्वरमा चालक अर्जुन दोङ तामाङको मृत्यु भएको घटनाको निष्पक्ष छानविनको माग गर्दै यातायात मजदुरले प्रदर्शन गरेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेको हो।
सोमबार त्रिपुरेश्वरमा चालक तामाङको ट्राफिक प्रहरीसँग विवाद भएको थियो। विवादपछि उनले बसमा आगजनी गरेको र आगजनीका क्रममा गम्भीर घाइते भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
सङ्गठनले घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष अनुसन्धान गर्न तथा घटनाको वास्तविक कारण सार्वजनिक गर्न माग गरेको छ। प्रदर्शनकारीले यातायात मजदुरको सुरक्षा र कार्यस्थलमा हुने व्यवहारबारे समेत प्रश्न उठाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।