सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि बाढीको जोखिम बढेको छ। नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
अपराह्न २ः१५ बजेसम्म सप्तकोशीमा २ लाख ४० हजार ५५५ क्युसेक पानीको बहाव मापन गरिएको छ। नदीमा पानीको बहाव उच्च तहमा पुगेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार चतारामा नदीको बहाव अझै बढ्दो क्रममा रहेकाले कोशी आसपासका तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा विशेष सतर्कता आवश्यक छ।
महाशाखाले नदी तथा खोलाको किनार, तल्लो भूभाग र डुबानको जोखिम रहेका क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
लगातार वर्षा भइरहेकाले आगामी केही समय नदीको जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई समेत आवश्यक तयारी अवस्थामा रहन आग्रह गरिएको छ।