काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवाको पूर्वाधार पुनर्निर्माण तथा रसुवागढी–केरुङ नाका तत्काल पुनः सञ्चालनमा ल्याउन नेपालले चीनसँग सहयोग मागेको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माण, सीमा नाका सञ्चालन र दीर्घकालीन सडक विकासबारे छलफल भएको हो।
भेटमा मन्त्री लम्सालले रसुवागढी नाका बन्द हुँदा स्थानीय नागरिक तथा दुई देशबीचको आवतजावत र व्यापारमा परेको असरबारे जानकारी गराउँदै स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन चिनियाँ सहयोग आवश्यक रहेको बताए।
उनका अनुसार करिब ६ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावतलाई ध्यानमा राख्दै सरकारले अस्थायी रूपमा पुरानै स्थानबाट सडक तथा यातायात व्यवस्था मिलाउन दिनरात काम गरिरहेको छ।
मन्त्री लम्सालले कोरला र तातोपानी नाकाको प्रभावकारी सञ्चालन तथा रसुवागढी नाकालाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन पनि चीन सरकारको सहयोग आवश्यक रहेको बताए।
यसैगरी काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारले नयाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र आवश्यक स्थानमा ट्रयाक खोल्ने काम अघि बढाएको जानकारी उनले दिए।
चीनद्वारा सहयोगको प्रतिबद्धता
चिनियाँ राजदूत वाङ माओमिङले चीनले नेपाललाई असल मित्र तथा छिमेकीका रूपमा हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन्।
उनले रसुवागढीलाई नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा उल्लेख गर्दै बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माणका लागि विशेष अध्ययन आवश्यक रहेको धारणा राखे।
राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका विषयमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
भोटेकोशी बाढीपछि बन्द रहेको रसुवागढी नाका पुनः सञ्चालनमा ल्याउने विषयलाई तत्कालीन राहत तथा दीर्घकालीन सीमा–व्यापार पूर्वाधार विकाससँग जोडेर अघि बढाउने विषयमा दुई पक्षबीच छलफल भएको छ।