चितवन । लगातारको वर्षासँगै चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि नदी आसपासका तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ।
नदीमा पानीको बहाव तीव्र रूपमा बढेसँगै भरतपुर महानगरपालिका–१७ र २८ का केही तटीय बस्तीमा पानी पस्न थालेको जनाइएको छ। जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, चितवनकै बनकट्टास्थित रिउ खोलामा समेत जलसतह खतराको सीमाभन्दा माथि पुगेको छ। नारायणी नदी र रिउ खोलामा बहाव उच्च रहेकाले आसपासका बस्तीमा थप डुबान तथा कटानको जोखिम देखिएको छ।
पश्चिम चितवनका अन्य तटीय तथा होचा क्षेत्रमा समेत बाढी पस्न सक्ने सम्भावना रहेकाले प्रहरीले नदी तथा खोलाको किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
चितवनमा रातभर वर्षा जारी रहेकाले नदी तथा खोलाको जलसतह थप बढ्न सक्ने जोखिम छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र अवस्था बिग्रिए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।