बुटवल । लगातारको वर्षासँगै पाल्पाका विभिन्न क्षेत्रमा गएको पहिरोले जनधनमा क्षति पुर्याएको छ। पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको हो।
यस्तै, माथागढी गाउँपालिका–३ कसेनीमा आइतबार बिहान पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा लिलबहादुरसहित झरना घर्ती र दिना घर्ती बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ। पहिरो खस्दा सडक अवरुद्ध हुनुका साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित भएका छन्। माडीफाँटलगायत क्षेत्रमा बाढी पस्दा धानबालीमा क्षति पुगेको छ भने पर्यटकीय क्षेत्र रानीमहल आसपासका होटल तथा रेस्टुरेन्टमा समेत पानी पसेको जनाइएको छ।
जिल्लाका झडेवा, हार्थोक–छहरा, बासटारी–झडेवा र आर्यभञ्ज्याङ–रामपुर सडकखण्डलगायत क्षेत्रमा पहिरोको जोखिम बढेको छ। प्रभावित क्षेत्रमा उद्धार, बेपत्ताको खोजी तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले जोखिमयुक्त क्षेत्रमा थप पहिरो तथा बाढी आउन सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।