बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता दिएको छ। आयोजनाले पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो।
आयोजना निर्देशक राजु आचार्यका अनुसार खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा थप सिँचाइ सुविधा पुर्याउने उद्देश्यले जग्गा अधिग्रहण गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ बमोजिम असोज ८ गते जग्गा प्राप्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ।
गुरुवागाउँ शाखा तथा उपशाखा नहरका लागि खजुरा गाउँपालिकाका वडा नं १, २, ५, ८ र ९ तथा बैजनाथ गाउँपालिकाका वडा नं ५ र ६ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ।
सम्बन्धित जग्गाधनी वा कानुनबमोजिमका वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय बाँके वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न सक्नेछन्।
अधिग्रहण हुने जग्गामा घर, गोठ, पर्खाल तथा रुख–बिरुवा भए त्यसको विवरणसमेत निवेदनमा खुलाउनुपर्नेछ। त्यस्ता संरचना तथा रुख–बिरुवा बढीमा एक महिनाभित्र हटाई जग्गा खाली गर्नुपर्ने सूचनामा उल्लेख छ।
४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्याउने लक्ष्य
सिक्टा सिँचाइ आयोजनाले राप्ती नदीको पश्चिमी भेगका ३३ हजार ७६६ हेक्टर र पूर्वी भेगका करिब ९ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। हाल करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले बताए।
आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण तीव्र गतिमा भइरहेको छ। सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढेको छ।
आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण तीव्र गतिमा भइरहेको छ। सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहरका लागि ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढेको छ। गुरुवागाउँ र अकलघरवा शाखा तथा उपशाखा र पूर्वी मूल नहरका बाँकी कामका लागि पूर्वतयारीसमेत भइरहेको आयोजनाले जनाएको छ।
बजेटमा पनि उल्लेख्य वृद्धि
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा सिक्टा सिँचाइ आयोजनाका लागि २ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएको थियो।
यस वर्ष गत वर्षको तुलनामा आयोजनाको बजेटमा करिब ९८ करोड रुपैयाँ वृद्धि भएको छ। थप बजेटसँगै शाखा तथा उपशाखा नहर विस्तार, पूर्वाधार निर्माण र बाँकी कामलाई गति दिँदै किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य आयोजनाले लिएको छ।