काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज बिहान स्वदेश फर्किएका छन् ।
कतारको राजधानी दोहामा आयोजित बैठकमा सहभागी हुन असोज १० गते प्रस्थान गरेका अर्थमन्त्री वाग्ले कतार एयरवेजको जहाजमार्फत काठमाडौँ फर्किएका हुन् । उनको भ्रमण नेपालका महत्वपूर्ण पूर्वाधार क्षेत्रमा एआईआईबीको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य मुलुकबीच आर्थिक सहकार्य बढाउने विषयमा केन्द्रित रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि पूर्वाधारमार्फत पुँजी निर्माण महत्वपूर्ण आधार रहेको बताएका थिए । उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा पर्याप्त लगानी आवश्यक रहेको धारणा राखेका थिए ।
नेपालजस्ता मुलुकको आवश्यकता र क्षमतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्नेमा जोड दिँदै उनले स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोतको उपलब्धता बढाउनुपर्ने बताएका थिए ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्ध, लगानी विस्तार, सहकार्य तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल भएको थियो ।
नेपाल पहिलोपटक एआईआईबीको उपसभापति निर्वाचित भएको पृष्ठभूमिमा अर्थमन्त्री वाग्लेको भ्रमणलाई पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय लगानी, प्रविधि र सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ । नेपालको पूर्वाधार आवश्यकता सम्बोधन गर्न एआईआईबीसँगको सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।