काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालमा चार नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। पार्टीभित्रको पछिल्लो घटनाक्रमबीच पूर्वसंघीय सांसदसहित चार नेताले एकसाथ राजीनामा दिएपछि जसपा नेपालको आन्तरिक राजनीतिमा नयाँ बहस सुरु भएको छ।
राजीनामा दिनेमा पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य तथा अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन्।
चारै नेताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। उनीहरूले अब पार्टीगत भूमिकाबाट बाहिरिएर पूर्णकालिक सदस्यका रूपमा ‘हुंकार मधेश’ अभियानमा सक्रिय हुने बताएका छन्।
‘हुंकार मधेश’ अभियान २०८३ असोज ९ गते औपचारिक रूपमा घोषणा गरिएको थियो। मधेशका राजनीतिक, सामाजिक तथा समसामयिक मुद्दालाई केन्द्रमा राख्दै अभियानले आफ्ना गतिविधि अघि बढाउने जनाएको छ।
जसपाका चार नेताको सामूहिक बहिर्गमनसँगै ‘हुंकार मधेश’ अभियानमा राजनीतिक वृत्तका थप व्यक्तिहरूको सहभागिता बढ्ने संकेत देखिएको छ। यसले मधेश केन्द्रित राजनीतिमा नयाँ शक्ति, अभियान वा राजनीतिक ध्रुवीकरणको सम्भावनाबारे समेत चासो बढाएको छ।
पार्टीबाटै अलग भएर अभियानमा सक्रिय हुने नेताहरूको निर्णयले आगामी दिनमा मधेशको राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।