काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आइतबारदेखि जारी कांग्रेसको १५औँ महाधिवेशनमा चौधरीले उपसभापतिमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन्। पार्टीले विधान संशोधनमार्फत उपसभापतिसहितका पदाधिकारी थप्ने तयारी अघि बढाएसँगै उनले उपसभापतिमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।
चौधरी १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्यमा दोहोरिएका थिए।
कांग्रेसमा पदाधिकारीको संख्या थप गर्ने विषयमा विधान संशोधन समितिले प्रस्ताव तयार पारेको छ। प्रस्तावअनुसार एक वरिष्ठ उपसभापति, एक महिला उपसभापति, एक महिला महामन्त्री तथा खुलातर्फ दुई सहमहामन्त्री थप गर्ने तयारी छ।
हाल कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ११ सहमहामन्त्री गरी पदाधिकारीको व्यवस्था रहेको छ।
विधान संशोधनसँगै पदाधिकारीको संख्या बढाउने तयारी भइरहेका बेला चौधरीको उपसभापति उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।