म्याग्दी । मनसुनजन्य विपद्का कारण बाढीपहिरोले क्षतिग्रस्त बनेको चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक मर्मतलाई तीव्रता दिइएको छ। सडकका विभिन्न स्थानमा नयाँ ट्र्याक खोल्ने, कटान भएका भाग पुनर्निर्माण गर्ने र पहिरो पन्छाउने काम एकैसाथ अघि बढाइएको छ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको भारी वर्षापछि आएको बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरुद्ध भएको थियो। बाढीले कालीगण्डकी नदी किनारका करिब १० स्थानमा सडक नै कटान गरेर बगाएपछि यातायात सञ्चालन प्रभावित बनेको थियो।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडक मर्मत गरी आगामी सोमबारसम्म सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।
उनका अनुसार वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट भुरुङ्ग–तातोपानीसम्मको सडक दुई दिनमै मर्मत गरिएको थियो। त्यस्तै मालढुङ्गातर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकको मर्मतसमेत सोमबार साँझसम्म सम्पन्न गरिएको छ।
कुनौटामा २५० मिटर सडक नदीले बगायो
कुनौटामा कालीगण्डकीको बाढीले करिब २५० मिटर सडक कटान गरेपछि उक्त क्षेत्रमा मर्मत कार्य सबैभन्दा चुनौतीपूर्ण बनेको छ। सडक बगाएपछि पैदल आवतजावतसमेत कठिन बनेको थियो।
सडक मर्मतका लागि आवश्यक इन्धन पुर्याउनसमेत समस्या भएपछि नेपाली सेना र ड्रोनको सहयोग लिइएको छ। सडक योजनाका प्रमुख शर्माका अनुसार नेपाली सेनाको टोली र ड्रोनको सहायताबाट पहिरो कटान क्षेत्र पार गराउँदै छ पटकको उडानमा ४०० लिटर डिजेल पुर्याइएको थियो। यसपछि कुनौटाभन्दा माथिल्लो क्षेत्रमा मर्मत कार्य अघि बढाउन सहज भएको छ।
यसअघि रघुगङ्गा–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा बाढीले कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग निर्माण गर्नुपर्ने अवस्था थियो। अहिले उक्त क्षेत्रमा सडक मार्ग खुलाउने काम सम्पन्न भइसकेको छ।
१५ स्काभेटर र १२ टिपर परिचालन
सडक पुनः सञ्चालनका लागि १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ। सडक विभाग र निर्माण व्यवसायीका उपकरणलाई विभिन्न अवरुद्ध क्षेत्रमा समानान्तर रूपमा परिचालन गरी काम अघि बढाइएको संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, रातोपानी, महभीर र भिरकाटे क्षेत्रमा समेत मर्मत जारी छ। रातोपानीमा बाढीले दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान गरेपछि नयाँ ट्र्याक खोलिएको छ। पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुरसमेत परिचालन गरिएको छ।
सडक विभागले यसै साताभित्र अवरुद्ध सडक मर्मत सम्पन्न गर्ने लक्ष्य राखेको छ। चीनसँगको व्यापारका लागि कोरला नाका अहिले थप महत्वपूर्ण बनेको भन्दै सडकलाई शीघ्र सञ्चालनमा ल्याउन उच्च प्राथमिकताका साथ काम भइरहेको अधिकारीहरूको भनाइ छ।
स्याउ, भेडाच्याङ्ग्रा र पर्यटनलाई सडक खुल्ने प्रतीक्षा
बेनी–जोमसोम सडक तत्काल सञ्चालनमा आउनुपर्ने दबाब व्यापारिक तथा पर्यटकीय दृष्टिले समेत बढेको छ। मुस्ताङको स्याउ बजार पठाउने मुख्य समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिँदैछ। त्यसमाथि मुस्ताङमा पर्यटकीय याम सुरु भएकाले सडक अवरुद्ध हुँदा स्थानीय व्यवसायी, कृषक, पशुपालक र पर्यटक सबै प्रभावित हुने अवस्था छ।
रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि कोरला नाका झनै महत्वपूर्ण बनेको छ। त्यसैले कालीगण्डकी कोरिडोरको यो खण्डलाई छिटो सञ्चालनमा ल्याउनु स्थानीय आवागमनसँगै व्यापार, पर्यटन र आपूर्ति व्यवस्थाका लागि समेत अत्यावश्यक बनेको छ।
बाढीपहिरोले सडकको ठूलो हिस्सा क्षतिग्रस्त बनाए पनि उपकरण, जनशक्ति र वैकल्पिक प्रविधि परिचालन गरेर मर्मत तीव्र पारिएपछि अब बेनी–जोमसोम–कोरला सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।