काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर चुहाउने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राज्यले विश्वास गरेर जिम्मेवारी दिएको पद र अधिकारको दुरुपयोग गर्ने व्यक्तिलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन्। उनले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय मर्यादा तथा जिम्मेवारीविपरीत संवेदनशील सूचना बाहिर पुर्याउने प्रवृत्तिमाथि आफूले लामो समयदेखि निगरानी गरिरहेको बताए।
गुरुङले राज्यका संवेदनशील सूचना कुनै व्यक्ति वा पदाधिकारीको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको उल्लेख गरे। पदका कारण सूचनामा पहुँच प्राप्त हुनु र त्यसलाई व्यक्तिगत स्वार्थ वा अन्य प्रयोजनका लागि दुरुपयोग गर्नु फरक विषय भएको उनको भनाइ छ।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ गृहमन्त्री गुरुङले भनेका छन्, ‘सूचनामा पहुँच हुनुको अर्थ त्यसको दुरुपयोग गर्ने अधिकार प्राप्त हुनु होइन।’
उनले राज्यका गोप्य सूचना संरक्षण गर्नु सम्बन्धित पदाधिकारी तथा कर्मचारीको कानुनी र नैतिक दायित्व भएको भन्दै जिम्मेवारीमा रहेका व्यक्तिले पदीय मर्यादा कायम राख्नुपर्नेमा जोड दिएका छन्। संवेदनशील सूचनाको अनधिकृत चुहावटले राज्यको सुरक्षा, प्रशासनिक गोपनीयता तथा संस्थागत विश्वासमा गम्भीर असर पार्न सक्ने भएकाले यस्ता गतिविधिप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने उनको संकेत छ।
गृहमन्त्रीको यस्तो चेतावनी संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको घटनापछि आएको हो। गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको तथा संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।
यस घटनासँगै गृह प्रशासनभित्र गोपनीयता, पदीय आचरण र संवेदनशील सूचनाको सुरक्षा विषय पुनः चर्चामा आएको छ। गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिले राज्य संयन्त्रभित्र जिम्मेवारीमा रहेका व्यक्तिले गोपनीयताको सीमा उल्लङ्घन गरे कडा कारबाही भोग्नुपर्ने सन्देश दिएको छ।