काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै निर्वाचन समितिले उम्मेदवारका लागि आवश्यक कागजात र रुजु प्रक्रियालाई स्पष्ट पारेको छ। उम्मेदवारी दर्ता गर्दा कागजात अपूर्ण भए प्रक्रिया अघि नबढ्ने भएकाले उम्मेदवारहरूलाई सबै प्रमाणपत्र र विवरण पूरा गरेर मात्रै दर्ता गर्न समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दिन इच्छुक व्यक्तिले आफूले प्रतिस्पर्धा गर्न चाहेको पदका लागि तोकिएको उम्मेदवारी फारम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ। फारममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्नेछ। उम्मेदवार स्वयं भने आफूले उम्मेदवारी दिएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन्।
उम्मेदवारीसँगै सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिद पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिले बैंक भौचरमा उम्मेदवारको नाम स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने जनाएको छ।
त्यसैगरी उम्मेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। समावेशी क्लस्टरतर्फबाट उम्मेदवारी दिने उम्मेदवारले आफू सम्बन्धित क्लस्टरअन्तर्गत पर्ने प्रमाणित गर्ने आवश्यक प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ।
कांग्रेसको केन्द्रीय नेतृत्व चयनमा क्रियाशील सदस्यताको निरन्तरतासमेत महत्वपूर्ण आधार भएकाले उम्मेदवारले क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस पनि उम्मेदवारी फारमसँगै बुझाउनुपर्नेछ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका क्रममा फारमदेखि प्रस्तावक–समर्थक, शुल्कको बैंक भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, सरकारी परिचयपत्र, समावेशी क्लस्टरसम्बन्धी प्रमाणपत्र तथा क्रियाशील सदस्यताको निरन्तरता सिफारिससम्मका कागजात रुजु गर्नेछ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका लागि मैदानमा उत्रिएका उम्मेदवारहरूका लागि उम्मेदवारी घोषणा मात्रै पर्याप्त नहुने भएको छ। प्रक्रिया पूरा गर्न आवश्यक सबै कागजात दुरुस्त राख्नुपर्ने भएको छ। निर्वाचन समितिले तोकेको मापदण्डअनुसार कागजात पूरा गरेर मात्रै उम्मेदवारी दर्ता हुने भएकाले उम्मेदवारहरू अन्तिम तयारीमा जुटेका छन्।