काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि मिनेन्द्र रिजालले उम्मेदवारी दर्ता गराएका छन्। रिजालले खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।
कांग्रेसभित्र बौद्धिक तथा अध्ययनशील नेताका रूपमा परिचित रिजालले मंगलबार नै उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए। घोषणा गरेको केही समयपछि उनी राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
रिजालको उम्मेदवारीसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धामा उपसभापति पदको समीकरण थप रोचक बनेको छ। १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुग्न आकांक्षी नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम तीव्र बनेसँगै महाधिवेशनको राजनीतिक सरगर्मीसमेत बढेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी उम्मेदवारी दर्ता प्रक्रियामा विभिन्न पदमा नेताहरूले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। रिजालको उम्मेदवारीलाई पनि पार्टीभित्रको वैचारिक तथा नीतिगत बहससँग जोडेर हेरिएको छ।