काठमाडौँ । देशभरको मौसममा देखिएको बदली र वर्षाको अवस्था शुक्रबारसम्म कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विभागका अनुसार शनिबारदेखि भने मौसम क्रमशः सुधार हुँदै जानेछ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो समय चितवन, काठमाडौँ, नवलपुर, तनहुँ र गोरखालगायतका क्षेत्रमा वर्षा भइरहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका सुर्खेत, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा तथा कैलाली आसपासमा पनि मध्यम वर्षा भएको छ।
विभागका अनुसार चितवनको गोविन्दबस्ती र धनगढी विमानस्थल क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा मापन गरिएको छ। पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षासमेत भएको छ।
बुधबार देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना अझ बढी रहने विभागको पूर्वानुमान छ। कोशी र मधेस प्रदेशसहित तराईका केही क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा कोशी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बिहीबार भने वर्षाको मात्रा केही घट्ने अनुमान गरिएको छ। यद्यपि पूर्वी पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको भनाइ छ। शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहे पनि अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो चेतावनी जारी गरेको छ। कोशी र मधेस प्रदेशमा भने मौसमको सामान्य प्रभाव रहने अनुमान गरिएको छ।
अहिले धान भित्र्याउने मुख्य समय भएकाले वर्षाका कारण किसानको कृषि कार्य प्रभावित हुनसक्ने भन्दै विभागले मौसमको अवस्था बुझेर मात्रै काम गर्न आग्रह गरेको छ। मौसमविद् लामिछानेले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेकाले धान काट्ने, सुकाउने तथा भित्र्याउने कार्यमा विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।
लगातारको वर्षाले सडक यातायात, पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई पनि सतर्क रहन विभागले आग्रह गरेको छ। यद्यपि शनिबारदेखि वर्षाको प्रभाव क्रमशः घट्दै जाने र देशको मौसममा सुधार आउने मौसमविद् लामिछानेले बताएका छन्।