काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी रूपान्तरणको अभियानलाई थप गति दिन आफूले अझ धेरै काम गर्न बाँकी रहेको बताएका छन्। १५औँ महाधिवेशनअन्तर्गत मतदानअघि महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसलाई जनताको चाहना र अपेक्षाअनुसारको सुदृढ, गतिशील र विशाल पार्टीका रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।
पौडेलले कांग्रेसको रूपान्तरणको यात्रा अझै पूरा नभएको उल्लेख गर्दै त्यसका लागि आफूलाई महाधिवेशन प्रतिनिधिको विश्वास, साथ र प्रेरणाको आवश्यकता रहेको बताए। उनले महामन्त्री पदमा आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि मात्र नभई लोकतन्त्रको सुदृढीकरण, कांग्रेसको पुनर्निर्माण र समुन्नत नेपालको साझा लक्ष्यसँग जोडिएको दाबी गरे।
‘नेपाली कांग्रेसको रूपान्तरणको यो यात्रामा मैले धेरै काम गर्न बाँकी छ । यसर्थ तपाईंको विश्वास र प्रेरणाले म महामन्त्री पदको उम्मेदवार बनेको छु,’ पौडेलले भने, ‘तपाईंको एउटा मत मेरा लागि मात्र हुने छैन, लोकतन्त्रको सुदृढीकरण, कांग्रेसको नव निर्माण र समुन्नत नेपालको हाम्रो साझा सपनामा महत्त्वपूर्ण योगदान हुनेछ।’
उनले विगतका अनुभवबाट सिक्दै आगामी दिनमा कांग्रेसलाई अझ प्रभावकारी, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउने दिशामा आफूले काम गर्ने प्रतिबद्धता जनाए। जनताले चाहेजस्तो र खोजेजस्तो कांग्रेस निर्माण गर्न विगतभन्दा अझ सघन रूपमा पार्टी र संगठनका लागि खटिने उनको भनाइ छ।
पौडेल यसअघि विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका थिए। जारी १५औँ महाधिवेशनमा उनले पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। मतदानअघि महाधिवेशन प्रतिनिधिलाई गरेको सम्बोधनमार्फत उनले आफ्नो आगामी राजनीतिक यात्राका लागि प्रतिनिधिको विश्वास र मत मागेका हुन्।