काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशतर्फ पहिलो मत खसाल्दै मतदान प्रक्रियाको सुरुवात गरेका छन्।
बिहानैदेखि मतदानस्थलमा प्रतिनिधिहरूको लामो लाइन लागेको छ। अघिल्लो दिन मतदान हुन नसकेपछि निराश बनेका प्रतिनिधिहरू आज मतदान सुरु भएसँगै उत्साहित देखिएका छन्। दसैँ नजिकिएकाले टाढाका जिल्लाबाट आएका प्रतिनिधिहरू मतदान गरेर समयमै घर फर्किने योजनामा छन्।
खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा भएको ढिलाइका कारण यसअघि तय भएको मतदान कार्यक्रम प्रभावित भएको थियो। रातिको समयमा मतदान गर्दा प्रतिनिधिहरूलाई कठिनाइ हुने भएकाले मतदाताको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए।
कटुवालका अनुसार दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने लक्ष्य राखिएको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका छन्।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले रातभर मतदान गराउनुपर्ने अवस्था आउन सक्ने भएकाले बिहानैदेखि मतदान सुरु गरिएको जानकारी दिए। मतपत्रको संख्या धेरै हुनु र उम्मेदवार तथा मतदाता बढी हुनुले छपाइमा ढिलाइ भएको उनले बताए। मतपत्रमा हस्ताक्षर गर्न आफूसहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएको उनको भनाइ छ।
पाँच स्थानमा मतदान केन्द्र
महाधिवेशन प्रतिनिधिको सहजताका लागि निर्वाचन समितिले विभिन्न प्रदेश तथा समूहअनुसार पाँचवटा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् भने खुलामञ्चको केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ।
त्यस्तै, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। पहाड हलमै नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पनि मतदानको व्यवस्था गरिएको छ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको केन्द्रमा गई परिचयपत्र र मतदाता नामावली रुजु गराउनुपर्नेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री मतदानस्थलमा लैजानसमेत रोक लगाइएको छ।
प्रतिनिधिको अतिरिक्त खर्च पार्टीले बेहोर्ने
महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको अतिरिक्त खर्च व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने जानकारी दिएका छन्।
मतदानपछि मतगणना सुरु गर्ने तयारी
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर आजै मतगणना सुरु गर्ने तयारी गरेको छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।
१५औँ महाधिवेशनले विधान संशोधनमार्फत नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि भइरहेको निर्वाचनलाई पार्टीको भावी नेतृत्व तथा संगठनात्मक दिशाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
मतदान प्रक्रिया अघि बढेसँगै कांग्रेसको नयाँ नेतृत्व कसको हातमा पुग्छ भन्ने चासो बढेको छ। प्रतिनिधिहरूको मतपरिणामले पार्टीको आगामी कार्यकालको नेतृत्व र राजनीतिक प्राथमिकता निर्धारण गर्नेछ।