काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टाको अवधिमा १ हजार २९३ मत खसेको छ।
बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। मतदान प्रक्रिया जारी रहँदा महाधिवेशन प्रतिनिधिहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन्।
मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट संयुक्त रूपमा २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
निर्वाचन प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको जनाइएको छ। मतदानमार्फत सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि नयाँ नेतृत्व चयन हुँदैछ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको यस निर्वाचनलाई पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक संरचनाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना पार्टीको केन्द्रीय कार्यालय सानेपामा गरिनेछ।