काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतदानपछि काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा भएको मतगणनाको अन्तिम परिणामअनुसार थापा भारी मतान्तरसहित सभापतिमा निर्वाचित भएका हुन्।
महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। मतगणनाका क्रममा ५४ मत बदर भएको जनाइएको छ।
सभापति पदका लागि भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी खड्गीलाई ६ हजार २०९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। यस परिणामले कांग्रेसको नेतृत्व चयनमा थापाको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको बलियो समर्थन देखाएको छ।
७ हजार ३९ प्रतिनिधिले गरे मतदान
निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेका थिए। तीमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।
सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो। सभापतिबाहेक अन्य पदका मतपेटिकाहरू भने मतगणनाका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा लगिएको जनाइएको छ।
कांग्रेसमा नयाँ नेतृत्व, परिवर्तनको अपेक्षा
गगन थापा सभापतिमा निर्वाचित भएसँगै नेपाली कांग्रेसको आगामी राजनीतिक दिशा, संगठनात्मक सुधार र नेतृत्वको कार्यशैलीप्रति चासो बढेको छ। पार्टीभित्र पुस्तान्तरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, संगठन विस्तार र जनतासँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषय नयाँ नेतृत्वका प्रमुख चुनौतीका रूपमा रहनेछन्।
लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले नयाँ नेतृत्वमार्फत पार्टीलाई थप गतिशील, जनमुखी र समयानुकूल बनाउने अपेक्षा गरिएको छ।
थापाको नेतृत्वमा कांग्रेसले लोकतान्त्रिक मूल्य, राष्ट्रियता, समाजवाद र सुशासनका मुद्दालाई व्यवहारमा उतार्दै जनताको विश्वास थप बलियो बनाउन सक्छ कि सक्दैन भन्ने विषय आगामी दिनमा महत्त्वपूर्ण हुनेछ।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वका लागि अब संगठनलाई एकताबद्ध बनाउने, कार्यकर्ताको भावना समेट्ने र जनताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउने जिम्मेवारी आएको छ ।