काठमाडौं । चाडपर्वका बेला एलपी ग्यासको अभाव र सिलिण्डर साटफेरमा हुने झन्झट कम गर्न नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकाका ६ स्थानबाट ग्यास बिक्री तथा सिलिण्डर साटफेर गर्ने भएको छ।
संघका अनुसार असोज २५ देखि ३१ गतेसम्म उपत्यकाका तोकिएका केन्द्रबाट बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म ग्यास खरिद तथा सिलिण्डर साटफेर गर्न सकिनेछ। चाडपर्वको समयमा ग्यास पाउन कठिन भएको र फरक ब्रान्डका सिलिण्डर साट्न समस्या परेको उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको संघले जनाएको छ।
कुन ठाउँमा कुन ग्यास पाइन्छ?
संघले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंको सिफलचौरमा एभरेष्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास तथा बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास उपलब्ध हुनेछन्।
त्यस्तै, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री तथा सिलिण्डर साटफेर गरिनेछ।
संघका अनुसार भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिण्डर ग्यास बि
क्री वितरण भएको थियो।
उपत्यकामा ग्यास आपूर्ति सामान्य बन्दै गए पनि चाडपर्वको समयमा उपभोक्ताले ग्यास सहज रूपमा नपाएको र फरक ब्रान्डका सिलिण्डर साट्न कठिनाइ भोगेको गुनासो आएपछि बिक्री तथा साटफेरका लागि छुट्टै केन्द्र तोकिएको संघले स्पष्ट पारेको छ।
तर, सिलिण्डर साट्दा ध्यान दिनुपर्नेछ। संघका अनुसार तोकिएका केन्द्रबाट काठमाडौं उपत्यकामा बिक्री वितरण हुने ग्यासका सिलिण्डर मात्रै साट्न पाइनेछ। निर्धारित केन्द्रबाहेक अन्य स्थानबाट सिलिण्डर साटफेर गर्न पाइने छैन।
चाडपर्वका बेला ग्यासको माग बढ्ने समयमा गरिएको यो व्यवस्थाले उपभोक्तालाई ग्यास खरिद तथा सिलिण्डर साटफेरमा सहजता हुने अपेक्षा गरिएको छ।
