काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी रहेको छ। कुल ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गणना हुँदा खुला उपसभापति, समावेशी उपसभापति तथा महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।
प्रारम्भिक मतपरिणामअनुसार खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। त्यस्तै, ई. मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गरेका छन्।
खुला उपसभापतिमा दुई जना निर्वाचित हुने व्यवस्था रहेकाले मतगणनाको पछिल्लो परिणामले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। समावेशी उपसभापतिमा विनोद चौधरी अगाडि समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ६१५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गरेका छन्। यस समूहबाट एक जना निर्वाचित हुने भएकाले उम्मेदवारहरूबीच प्रतिस्पर्धा जारी छ।
महामन्त्रीमा प्रदीप पौडेलको अग्रता महामन्त्रीको खुला समूहमा प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। उदयशमशेर राणाले ७८६, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८ र नैनसिंह महरले २७० मत प्राप्त गरेका छन्।
त्यस्तै, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्। खुला महामन्त्रीतर्फ दुई जना निर्वाचित हुनेछन्। महिला महामन्त्रीमा डिला संग्रौला सामान्य मतले अगाडि महिला महामन्त्रीतर्फ डा. डिला संग्रौलाले ९६५ मत प्राप्त गरेकी छन् भने महालक्ष्मी उपाध्याय ‘डिना’ले ९५२ मत प्राप्त गरेकी छन्। यी दुई उम्मेदवारबीच १३ मतको अन्तर देखिएको छ। रिता खनालले २५१ मत प्राप्त गरेकी छन ।
महिला महामन्त्रीतर्फको प्रतिस्पर्धा निकै नजिक देखिएकाले आगामी मतगणनाले परिणाममा महत्त्वपूर्ण प्रभाव पार्न सक्नेछ। अन्तिम परिणामको प्रतीक्षा प्रारम्भिक मतपरिणामले केही उम्मेदवारलाई अग्रस्थानमा देखाए पनि मतगणना सम्पन्न नभएसम्म अन्तिम परिणामबारे निष्कर्ष निकाल्न सकिने अवस्था छैन। कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रियामा उपसभापति र महामन्त्रीका पदलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
मतगणना अघि बढ्दै जाँदा उम्मेदवारहरूको मतान्तरमा परिवर्तन आउन सक्ने भएकाले अन्तिम परिणामप्रति महाधिवेशन प्रतिनिधि तथा कांग्रेस कार्यकर्ताको चासो बढेको छ।