नुवाकोट । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि तुइन र जिपलाइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका नुवाकोटका स्थानीयवासीलाई झोलुङ्गे पुल सञ्चालनमा आएपछि राहत मिलेको छ। विदुर नगरपालिका–१ को ढुङ्गे र त्रिशूली बजारलाई जोड्ने गरी निर्माण गरिएको पुल पूर्ण रूपमा सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएको हो।
गत भदौ १० गतेको बाढीले पुल बगाएपछि नदीपारिका बस्तीका बासिन्दाले वारपार गर्न कठिनाइ भोग्दै आएका थिए। विशेषगरी बाढीबाट प्रत्यक्ष प्रभावित त्रिशूली बजार र आसपासका बस्तीका स्थानीयवासी तुइन तथा जिपलाइनको सहारामा आवतजावत गर्न बाध्य थिए। झोलुङ्गे पुल सञ्चालनमा आएपछि दैनिक आवतजावतसँगै राहत सामग्री ढुवानी र पुनःस्थापनाका काममा समेत सहजता थपिएको छ।
नुवाकोट निर्माण व्यवसायी सङ्घका अध्यक्ष शैलेन्द्रराज प्याकुरेलका अनुसार पुलको मुख्य वारपार संरचना र लट्ठा जडानको काम पूरा भएपछि स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको हो। पुलका दुवैतर्फ चार स्थानमा सहायक लट्ठा बाँध्नेलगायत केही काम भने अझै बाँकी छन्।
चाडपर्वको समयमा बाढी प्रभावित बासिन्दाले तुइनबाट नदी वारपार गर्दा भोग्नुपरेको सास्ती कम गर्न पुल पूर्ण रूपमा निर्माण सम्पन्न हुनुअघि नै सञ्चालनमा ल्याइएको प्याकुरेलले बताए। भोटेकोशी बाढीले त्रिशूली नदी र आसपासका संरचनामा क्षति पुर्याएपछि वारपारका लागि निर्माण गरिएको यो पहिलो पुल भएको उनको भनाइ छ।
पुलका केही संरचना निर्माण गर्न बाँकी रहेकाले वारपार गर्दा हल्लिने समस्या देखिएको छ। यद्यपि निर्माण पक्षले प्राविधिकको भनाइ उद्धृत गर्दै पुलबाट एकैपटक ठूलो सङ्ख्यामा यात्रु आवतजावत गर्न सक्ने जनाएको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीपछि त्रिशूली नदीमाथिका पक्की संरचना क्षतिग्रस्त हुँदा स्थानीयवासीले जोखिमपूर्ण माध्यमबाट यात्रा गर्नुपरेको बताए। तुइन र जिपलाइनबाट सीमित सङ्ख्यामा मात्रै यात्रु वारपार गराउन सकिने अवस्थामा झोलुङ्गे पुल निर्माणले आवतजावत सहज बनाएको उनले उल्लेख गरे।
३ करोड १८ लाख लागत अनुमान
झोलुङ्गे पुल निर्माणका लागि ३ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माण पक्षका अनुसार हालसम्म १ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ भने थप १० लाख रुपैयाँ बराबरको काम गर्न बाँकी छ।
नेपाल निर्माण व्यवसायी महासङ्घले पुल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको महासङ्घका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए। उनका अनुसार उक्त रकम निर्माण व्यवसायी कोषमार्फत सुनिश्चित गरिएको छ। अपुग रकम नुवाकोट निर्माण व्यवसायी सङ्घले व्यहोर्नेछ।
चार वडासहित छिमेकी जिल्लाका बासिन्दालाई सहज
पुल सञ्चालनमा आएसँगै विदुर नगरपालिका–१ को ढुङ्गेबाट त्रिशूली बजार हुँदै विदुरका वडा नं. ७, ८, ९ र १२ का बस्तीमा पुग्न सहज भएको छ। यसबाट किस्पाङ र म्यागङ गाउँपालिका, रसुवाका वडा नं. १, २ र ३ तथा धादिङतर्फ आवतजावत गर्ने यात्रुले समेत सुविधा पाएका छन्।
त्रिशूली नदीपारि रहेको त्रिशूली अस्पताल, नेपाल विद्युत् प्राधिकरणको नुवाकोट वितरण केन्द्र तथा विद्यालयमा पुग्न पनि पुलले सहज बनाएको छ। पुलका दुवैतर्फ सडक सञ्जाल जोडिएकाले नदी वारपार गरेपछि सवारीसाधनमार्फत गन्तव्यसम्म पुग्न सकिने भएको छ।
पुलको अभावमा त्रिशूली बजार क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउन, पुरिएका संरचनाको खोजतलास गर्न तथा नदीपारिका बस्तीमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन कठिनाइ हुँदै आएको थियो। झोलुङ्गे पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ।
बाढीले भत्काएका पक्की पुलको विकल्पमा निर्माण गरिएको झोलुङ्गे पुल अहिले स्थानीयवासीका लागि नदी वारपार गर्ने माध्यम मात्र नभई दैनिक जीवनलाई सहज बनाउने महत्त्वपूर्ण सम्पर्कमार्ग बनेको छ। बाँकी निर्माण कार्य पूरा गरी पुललाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्नु अबको आवश्यकता देखिएको छ। रासस