Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

झरी परेपछि सुत्दैनन् सेहरीवासी


२३, साउन २०८०
  • 145
    SHARES
  • झरी परेपछि सुत्दैनन् सेहरीवासी

    नवलपरासी । बर्खामा लगातार झरी पर्न सुरु भएपछि नारायणी नदी किनारमा रहेको सेहरी गाउँका स्थानीयको निद्रा हराउँछ । करिब दुई दशकअघि नदीमा आएको बाढीका कारण तत्कालीन नारायणी, कोल्हुवालगायतका गाविसमा ठूलो क्षति पुगेको थियो । 

    विसं २०५८ मा नारायणी नदीमा आएको बाढीबाट तत्कालीन नवलपरासीको नारायणी गाविसमा पर्ने सेहरी गाउँमा डुबान तथा कटानका कारण गाउँ नै स्थानान्तरण हुनुपरेको स्थानीयवासी स्मरण गर्छन् । हालको मध्यविन्दु नगरपालिका–२ मा पर्ने सेहरीका सीताराम महतोले २० वर्ष अगाडिको घटनाका कारण अहिले पनि पानी पर्दा रातिमा निद्रा नलाग्ने गरेको बताउनुभयो ।

    “विसं २०५८ मा नारायणी नदीमा ठूलो बाढी आएको थियो, गाउँमा नारायणी पसेपछि हेलिकोप्टरमार्फत मान्छेको उद्धार गरेको घटना हरेक वर्षको बर्खामा ताजा हुन्छ”, उहाँले भन्नुभयो, “त्यो बेला धान रोपाइँ गरिएको सयौँ बिघा जमिन, पशुचौपाया, घरमा रहेका अन्नबाली सबैमा क्षति पुर्‍याउँदा भोकमरीको स्थिति सृजना भएको थियो ।” 

    बाढीले गाउँमा क्षति पुर्‍याएपछि स्थानीयहरु नजिकको सुरक्षित स्थान विद्यालय तथा सामुदायिक भवनका साथै आफन्तको घरमा शरण लिन पुगेको महतोले स्मरण गर्नुभयो । “अहिले पनि लगातार ठूलो पानी पर्‍यो भने हामी सुत्न सक्दैनौँ”, उहाँले भन्नुभयो, “फेरि नारायणीमा बाढी आएर हाम्रो उठिबास लगाउँछ कि भन्ने चिन्ताले रातदिन सताउने गरेको छ ।” बाढीले बस्ती नै विस्थापित गरेको केही वर्षपछि विस्तारै मानिसहरु आफ्नो ठाउँमा फर्किएका महतोको भनाइ छ । 

    मध्यविन्दु–२ सेहरीका विफली बोटेले हिउँदभरि चिन्ता बिना नै दिनहरु जाने भए पनि बर्खा सुरु भएपछि आफूहरुको पीडाका दिनहरु सुरु हुने बताउनुभयो । “बर्खा सुरु भएसँगै कति बेला नारायणी बढेर आउँछ र हाम्रो उठिबास लगाउँछ भन्ने चिन्ताले अझै पनि सताउने गरेको छ”, उहाँले भन्नुभयो । साउन लागेपछि असोज नलाग्ने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको उहाँले बताउनुभयो । 

    “बेलुका सुत्दा त ठिकै सुतेका हुन्छौँ । तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निद्रा नै लाग्दैन”, बोटले भन्नुभयो, “राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।” 

    खासगरी नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा पानी परेको समाचार सुन्दा नदीमा बाढी आउँछ कि भन्ने चिन्ता आफूहरुको मनमा रहने गरेको उहाँको भनाइ छ । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि सरोकारवालाहरुले चासो दिनुपर्ने स्थानीय बताउँछन् । 

    मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले नारायणी नदीको धेरै ठाउँमा तटबन्ध गरिएको बताउनुभयो । “नारायणी नदी व्यवस्थापन कार्यालय चितवनले नदीको धेरै ठाउँमा ठक्कर दिएर नदीलाई बस्ती पस्नबाट जोगाउने कोसिस गरेको छ”, उहाँले भन्नुभयो, “यसरी नदी किनारमा ठक्कर दिएर मात्रै नदीको बाढी र कटान नियन्त्रण गर्न सकिँदैन, यसको दीर्घकालीन समाधान हुनुपर्छ ।” कार्यालयले चितवन र नवलपुरमा बराबर काम गर्ने गरी बजेट विनियोजन गरेको भए पनि नवलपुरतर्फ खासै काम नगरेको पाइएको उहाँले गुनासो गर्नुभयो । 

    “चितवनतर्फ बाढी र कटान रोक्नका लागि दीर्घकालीन काम भएको हामीले पायौँ तर हाम्रो नवलपुरतर्फ चितवनको जसरी काम नै सुरु भएको छैन”, उहाँले भन्नुभयो, “जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र सङ्घीय सांसदको चासोमा नारायणी नदीको व्यवस्थापन नपर्दा पनि नदी तटीय बासिन्दाले बर्सेनि पीडा भोग्नुपरेको छ ।” नवलपुरतर्फ ठेक्का लगाएर पनि काम हुन नसकेको, नदीको किनारमा जालीमा ढुङ्गा भरेर ठक्कर दिने काम मात्रै भएको अधिकारीको भनाइ छ । 

    मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ मनसुनका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यविन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन् । बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend