काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको दबाब, भय र त्रासबाट आफू विचलित नहुने स्पष्ट सन्देश दिएका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएपछि उनले आफू कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको तर कुनै पनि दबाबसामु नझुक्ने बताएका हुन्।
धार्मिक यात्राका क्रममा काठमाडौँबाहिर रहेका शिवाकोटीलाई साइबर ब्युरोले फोनमार्फत सम्पर्क गरी उपस्थित हुन भनेको हो। उनले काठमाडौँ फर्किएलगत्तै ब्युरोमा जाने बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु।’
पछिल्लो समय शिवाकोटीले सरकारको कार्यशैली, विधि र विधानको पालना, लोकतान्त्रिक मूल्य-मान्यता तथा प्रतिपक्षको भूमिकाबारे निरन्तर प्रश्न उठाउँदै आएका छन्। सरकारका गलत निर्णय र कार्यशैलीको आलोचना गर्नु प्रतिपक्षको लोकतान्त्रिक जिम्मेवारी भएको उनको धारणा छ।
साइबर ब्युरो स्रोतका अनुसार पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई बोलाइएको हो। सामाजिक सञ्जालमा खड्काले सार्वजनिक गरेका अभिव्यक्तिमाथि प्रश्न उठाउँदै शिवाकोटीले प्रतिपक्षले जिम्मेवारीपूर्वक उठाएका प्रश्नको सरकारले तथ्य र प्रमाणसहित जवाफ दिनुपर्ने बताएका थिए।
त्यसैगरी, उनले विवादमा आएका इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनसँग सम्बन्धित विषयमा समेत सरकारसँग जवाफदेहिता माग्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
शिवाकोटीको पछिल्लो अभिव्यक्तिले सरकार र प्रतिपक्षबीच बढ्दो राजनीतिक तनावलाई थप चर्चामा ल्याएको छ। विशेषगरी सरकारको आलोचना गर्ने राजनीतिक नेता तथा नागरिकमाथि साइबर कानुनको प्रयोग कस्तो आधार र प्रक्रियाबाट भइरहेको छ भन्ने प्रश्न उठ्न थालेको छ।
लोकतान्त्रिक व्यवस्थामा सरकारका निर्णयमाथि प्रश्न उठाउनु, असहमति जनाउनु र जवाफदेहिता माग्नु प्रतिपक्षको संवैधानिक तथा राजनीतिक दायित्व हो। त्यसैले कुनै पनि उजुरीमाथि अनुसन्धान गर्दा कानुनी प्रक्रिया निष्पक्ष, पारदर्शी र पूर्वाग्रहरहित हुनुपर्छ।
अजयबाबु शिवाकोटीको अडान केवल व्यक्तिगत अभिव्यक्तिको विषय होइन, सरकारलाई प्रश्न गर्ने प्रतिपक्षको अधिकार र लोकतान्त्रिक शासनको जवाफदेहितासँग पनि जोडिएको छ।
लोकतन्त्रमा आलोचनालाई भयले होइन, तथ्य र तर्कले जवाफ दिनुपर्छ। कानुनको शासन स्थापित गर्ने नाममा असहमत आवाजलाई निरुत्साहित गर्ने अवस्था आउनु हुँदैन।