कपिलवस्तु । पुस्तौँदेखि भोगचलन गर्दै आएको आफ्नै जमिनको कानुनी स्वामित्व प्रमाणित गराउन संघर्षरत कृष्णनगरका २६१ परिवारको लामो प्रतीक्षा अन्ततः पूरा भएको छ । वर्षौँदेखि जग्गा आफ्नै भए पनि लालपुर्जा नहुँदा स्वामित्वको अन्योल र विभिन्न प्रशासनिक समस्या झेल्दै आएका स्थानीयले अब आफ्नो जमिनको कानुनी पहिचान पाएका छन् ।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका-९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का २६१ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो ।
नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ परिवारले लालपुर्जा प्राप्त गरेका छन् । यो वितरणसँगै लामो समयदेखि गाउँब्लक जग्गाको स्वामित्वसम्बन्धी समस्या भोग्दै आएका परिवारमा खुसी छाएको छ ।
८० वर्षको उमेरमा पूरा भयो जग्गाको स्वामित्व पाउने सपना
लालपुर्जा प्राप्त गर्ने ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीका लागि यो केवल एउटा कागजात प्राप्तिको विषय थिएन, जीवनभरको प्रतीक्षा पूरा भएको क्षण थियो । वर्षौँदेखि आफूले भोगचलन गर्दै आएको जमिनको कानुनी प्रमाण नहुँदा मनमा रहेको अन्योल लालपुर्जा पाएपछि हटेको उनले बताइन् ।
उनले भनिन्, “वर्षौंदेखि यही जग्गामा बस्दै र भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा थिएन । अहिले बुढेसकालमा भए पनि लालपुर्जा पाउँदा निकै खुसी लागेको छ । अब आफ्नो जग्गा आफ्नै भएको प्रमाण हात परेको छ ।”
त्यस्तै, वडा नं. ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको स्वामित्व अहिले आएर प्रमाणित भएको बताए । उनका अनुसार पुर्जा नहुँदा पुस्तौँदेखि जग्गाको स्वामित्वबारे अन्योल कायम थियो । उनले भने, “हाम्रा पुर्खाले भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउन पाँच पुस्ता कुर्नुपर्यो । अहिले आफ्नो नाममा लालपुर्जा पाउँदा परिवारमा खुसी छाएको छ ।”
नगरपालिकाको प्राथमिकतामा भूमिहीनता र स्वामित्वको समस्या कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए ।
लालपुर्जा वितरणले नागरिकको जग्गामाथिको कानुनी स्वामित्व सुरक्षित गर्नुका साथै आर्थिक, सामाजिक तथा प्रशासनिक गतिविधिमा समेत सहजता ल्याउने उनको भनाइ छ । “नगरपालिका भित्र रहेका गाउँब्लक जग्गाधनी सबैलाई क्रमशः प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ,” नगर प्रमुख शाहले भने । बाँकी जग्गाको दर्ता प्रक्रिया छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय र आवश्यक पहल गरिने उनले बताए ।
नगर प्रमुख शाहले कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अगाडि बढाइने जानकारी दिए । यससम्बन्धी अध्यादेश आइसकेको र आयोग गठन भएपछि लालपुर्जा वितरणको काम अघि बढ्ने उनले बताए ।
२०७० सालमा नापी भएको जग्गाको पुर्जा वितरण
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरी प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिए । उनका अनुसार विसं २०७० मा नापी गरिएको जग्गाको प्रमाणपुर्जा अहिले वितरण गर्न सफल भएको हो ।
उनले जग्गाधनीलाई प्रमाणपुर्जामा उल्लेख भएका नाम, कित्ता नम्बर, क्षेत्रफललगायत विवरण सावधानीपूर्वक जाँच गर्न आग्रह गरे । कुनै विवरण त्रुटिपूर्ण भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सच्याउन सकिने उनले स्पष्ट पारे ।
कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं. ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीहरूको सहभागिता रहेको थियो ।
२६१ परिवारले लालपुर्जा पाउनु केवल प्रशासनिक उपलब्धि मात्र होइन, पुस्तौँदेखिको स्वामित्वको अन्योल अन्त्य गर्ने महत्वपूर्ण कदम हो । अब बाँकी गाउँब्लक तथा अन्य जग्गाधनीले पनि कहिले आफ्नो जमिनको कानुनी पहिचान पाउनेछन् भन्ने प्रश्नको जवाफ स्थानीयले खोजिरहेका छन् ।