काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै सवारी नियम उल्लङ्घन र पैदलयात्रीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकूल निधिको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ।
प्रहरीका अनुसार मन्त्रालयअगाडि रहेको जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा सांसद गैरेलाई सल्लाहकार निधिको गाडीले ठक्कर दिएको हो। सडक पार गर्न हातले इसारा गर्दागर्दै गाडीले ठक्कर दिएपछि उनी भुइँमा लडेकी थिइन्। घटनामा सांसद गैरे सामान्य घाइते भएकी छन्।
सवारीसाधन र यातायात व्यवस्थापनसम्बन्धी नीति तथा नियम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयकै विज्ञ सल्लाहकारको गाडीबाट यस्तो घटना हुनुले थप प्रश्न खडा गरेको छ।
सिंहदरबारलाई देशकै सुरक्षित र संवेदनशील प्रशासनिक क्षेत्र मानिन्छ। त्यही परिसरभित्र रहेको जेब्रा क्रसिङमा पैदलयात्रीलाई बाटो काट्ने क्रममा ठक्कर दिइनुले सवारी चालकको जिम्मेवारी, सडक अनुशासन र सुरक्षा व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
सडक सुरक्षा र ट्राफिक नियमको पालना अरूलाई सिकाउने जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको घटनाले प्रशासनिक केन्द्रभित्रै नियम पालना कति प्रभावकारी छ भन्ने बहससमेत जन्माएको छ।