Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आरोप–प्रत्यारोप होइन, जनताको काम गरेर जनमत कमाउनुस् : भण्डारी


२३, कात्तिक २०८३
  • 58
    SHARES
  • आरोप–प्रत्यारोप होइन, जनताको काम गरेर जनमत कमाउनुस् : भण्डारी

    बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद, आरोप–प्रत्यारोप र भ्रम फैलाउन समय खर्चिनुभन्दा जनताको पक्षमा काम गरेर जनमत आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाउँदैमा सरकार सफल नहुने बताए । जनताको जीवनमा परिवर्तन ल्याउने कामबाट मात्रै सरकारप्रति विश्वास र समर्थन बढ्ने उनको भनाइ थियो ।

    ‘काम गरेर जनमत बढाउने हो, अनावश्यक हल्ला र भ्रम फैलाएर जनमत बढ्दैन,’ उनले भने, ‘सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार चल्दैन । जनताको काम गरेर जनमत आर्जन गर्नुपर्छ ।’

    सरकारका गतिविधिमा कमजोरी वा गल्ती भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने उल्लेख गर्दै उनले विकास निर्माण र जनताका काम प्रभावित हुने गरी आरोप–प्रत्यारोपमा नअल्झिन आग्रह गरे । युवाको ऊर्जा र क्षमतालाई देश विकासमा लगाउनुपर्नेमा उनले जोड दिए ।

    कांग्रेस सभापति गगन थापाको विषयमा बोल्दै भण्डारीले उनलाई लामो समयदेखि चिनेको उल्लेख गरे । थापाले कानुनविपरीत काम गरेको भए कानुनी प्रक्रियाबाट कारबाही गरेर देखाउन उनले सरकारलाई चुनौती दिए ।

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराएको प्रसंग उठाउँदै भण्डारीले त्यसले अहिलेको राजनीतिक परिस्थितिमा भूमिका खेलेको टिप्पणी गरे । त्यसबेला आफूले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूलाई सचेत गराएको पनि उनले बताए ।

    नेतृत्वको पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण समयमै आवश्यक निर्णय हुन नसक्दा देशले त्यसको परिणाम भोग्नुपरेको उनको भनाइ थियो ।

    भण्डारीले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्यप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र स्थापना र पूर्वाधार विकासमा विगतका सरकार तथा राजनीतिक दलको योगदानलाई नयाँ नेतृत्वले पनि स्वीकार गर्नुपर्ने बताए ।

    ‘हामीले बनाएको घरभित्र बालेन आएका हुन् । यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ,’ उनले भने, ‘आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन ।’

    कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले कांग्रेसलाई कमजोर बनाउने प्रयास सफल नहुने दाबी गरे । कांग्रेस सभापति थापाले अघि सारेको अभियानले पार्टीसँगै मुलुकको भविष्यसमेत राम्रो बनाउने उनको विश्वास थियो ।

    त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले वर्तमान सरकारका गतिविधि विधिको शासनविपरीत भइरहेको आरोप लगाए । उनले सरकारका गतिविधिबारे जनताले आवाज उठाउनुपर्ने बताउँदै पार्टीभित्रको अराजकता अन्त्य गर्न नेता तथा कार्यकर्तालाई आफ्ना आनीबानी सुधार्न आग्रह गरे ।

  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र

  • लुम्बिनीमा अन्धोपन न्यूनीकरण गर्न स्वास्थ्य सेवामा लगानी बढाइने

    दाङ । लुम्बिनी प्रदेश सरकारले अन्धोपन तथा दृष्टिदोष न्यूनीकरणका लागि आँखा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै

  • चितवन निकुञ्ज घुम्न अब घरबाटै टिकट, सौराहाबाट सुरु भयो ई–टिकटिङ सेवा

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरमै बसेर अनलाइनमार्फत प्रवेश टिकट काट्न

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend