काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज घरघरमा गाईको पूजा आराधना गरी मीठा परिकार खान दिएर मनाइँदैछ। हिन्दू धर्ममा गाईलाई पवित्र र मातासमान मान्दै गौमाताका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ।
गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने तथा दूध पोषणयुक्त हुने विश्वासका कारण धार्मिक र सांस्कृतिक रूपमा गाईको विशेष महत्त्व रहँदै आएको छ। आज गाईलाई विधिपूर्वक पूजा गरी माला लगाउने, टीका लगाइदिने र मीठा परिकार खुवाउने चलन छ।
धार्मिक मान्यताअनुसार गाईको पूजा गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ। साउन शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने धार्मिक विश्वाससमेत छ।
नेपालका केही स्थानमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ।
गाईलाई राष्ट्रिय जनावरका रूपमा समेत सम्मान गरिएको छ। वैदिक सनातन परम्परामा विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने चलन रहे पनि पछिल्लो समय गाईको अभावमा संकल्प गरेर रकम राख्ने प्रचलन बढ्दै गएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।
– रासस