दैलेख । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा बिरामीसहित ६ जना घाइते भएका छन्। दुर्घटनामा चालकको अवस्था गम्भीर रहेको छ।
सोमबार बिहान गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बलेरो सडकबाट करिब २०० मिटर तल खसेको हो।
प्रहरीका अनुसार कालिकोटबाट २७ वर्षीया बिरामी कैसी सार्कीलाई अक्सिजनसहित थप उपचारका लागि सुर्खेत लैजाने क्रममा दुर्घटना भएको हो। गाडी २२ वर्षीय योगेश सिंखडाले चलाएका थिए।
दुर्घटनामा चालक सिंखडासहित गंग शार्की, तपेन्द्र सिंखडा, जादुकाल सार्की, रने शार्की र बिरामी कैसी सार्की घाइते भएका छन्। चालकको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेको अवस्था पनि चोटपटक लागेको अवस्थामा रहेको छ। सबै घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।