Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पहिलेको झाडी अहिले कागती बगैँचा


२५, साउन २०८०
  • 194
    SHARES
  • पहिलेको झाडी अहिले कागती बगैँचा

    दाङ । पाँच वर्षअघि निल काटा र सैँजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर अहिले कागतीको बगैँचामा परिणत भएको छ ।

    जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । यहाँ पुग्ने जोकोहीको ध्यान फलेका कागतीका बगैँचाले तान्ने गरेका छन् ।

    गोबरडिहाका किसान अन्जित चौधरीले पाखोबारीमा व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरेपछि उहाँको दैनिकी फेरिएको छ । चौतिस वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गर्नुभएको हो । 

    बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताउनुभयो । विसं २०७४ मा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

    धनकुटास्थित वनस्पति उद्यानबाट उन्नत जातका सुन कागती–१ र सुन कागती–२ का तीन हजार बिरुवा खरिद गरी खेती थालेको बताउँदै चौधरीले अहिले बगैँचामा पाँच हजारको हारहारीमा कागतीका बोट रहेका जानकारी दिनुभयो ।

    गत वर्ष दुई क्विन्टल भन्दाबढी बिक्री गरेको जनाउँदै उहाँले यस वर्ष खडेरीका कारण फलेका कागती बढ्न नसके पनि उत्पादनमा भने कमी नभएको बताउनुभयो ।
     
    उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी रू एक सय ५० देखि रू रू दुई सयसम्ममा बिक्री गरिरहेको जानकारी दिनुभयो । जग्गा प्रयोग गरेबापत उहाँले वार्षिक रू दुई लाख भाडा तिरिरहनुभएको छ ।

    खेती गर्न थालेको पाँच वर्ष भएको बताउँदै उहाँले राम्रो आम्दानी भइरहेको सुनाउनुभयो । चौधरीका अनुसार यहाँ दुई जनाले पूर्ण र सात जनाले आंशिक रोजगारी पनि पाएका छन् । 

    “अहिले कागती बगैँचा फस्टाउँदै गएको छ । खेती गरेको जग्गा सरकारी जमिन हो । देउखुरीको प्राविधिक शिक्षालयको भवनमा बसेपछि जमिन प्राविधिक शिक्षालयलाई दिनुपर्ने भन्दै बगैँचा खाली गरिदिन भनिरहेका छन्”, उहाँले भन्नुभयो, “गरिरहेको व्यावसाय कहाँ लैजानु समस्या भएको छ ।”

    “बाबुबाजेले धान, मकै, गहुँखती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नुभयो । अहिले क्याम्पसमा पढ्दै  परम्परागत खेतीको विकल्पका रुपमा कागती खेती सुरु गरेको हुँ”, चौधरीले भन्नुभयो, “सफल पनि भएको छु ।

    यतिधेरै लगानी गरेर बगैँचा बनाइसके अब कहाँ गएर यो खेती गरुँ ?” यस खेतीका लागि सुरुका वर्ष गढवा गाउँपालिकाले रू तीन लाख र कृषि ज्ञानमाला केन्द्र घोराहीले रू दुई लाख अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । 

    उहाँको यस कागती बगैँचा यस क्षेत्रकै सबैभन्दा ठूलो रहेकाले के कसरी खेती गरिन्छ भन्ने जानकारी लिन, शैक्षिक अवलोकन गर्न विद्यार्थी, सञ्चारकर्मी, सर्वसाधारण, कृषक तथा कृषि क्षेत्रका सरकारी व्यक्तित्वहरु आउने गरेका जानकारी दिनुभयो ।

    नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ थियो ।

    कृषि प्रधान हाम्रो देशमा कृषिका अत्यन्तै सम्भावना रहेका भन्दै उहाँले यही माटोमा मेहनत गरे मनग्य आम्दानी गर्नसकिने अनुभव सुनाउनुभयो ।

    यस पटक भएको आम्दानीबाट थोपा सिँचाइ र तारजाली लगाउने योजना रहेको चौधरीले बताउनुभयो । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्रसमेत खोल्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो ।

    चौधरीले बर्सेनि युवाशक्ति रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकामा यसलाई राज्यले रोकेर आफ्नै देशमा आधुनिक आयमूलक काममा लगाउनुपर्ने सुझाव दिनुभयो ।

    सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, किटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    युवालाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालनमा ल्याउने, तालिम, सीपमूलक कृषि कार्यक्रमलगायत रोजगारी केन्द्रीत योजना उपलब्ध गराउन सके वैदशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने चौधरीको भनाइ थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend