काठमाडौं । बुधबारभित्र अदालतमा अभियोग दर्ता गरिसक्नु पर्ने हदम्याद भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले आइतबार (आज) अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ।
पक्राउ परेका १६ जनासहित विभिन्न व्यक्तिसँग बयान तथा सोधपुछको आधारमा प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्षसहित अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । प्रहरीले आरोपीसँग २६ करोड ८८ लाख बिगो कायम गरी मुद्दा दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ । साथै आरोपीविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, ठगी तथा किर्तेमा मुद्दा दर्ता गरी हदैसम्मको कारबाहीको माग गर्ने तयारी गरेको छ। नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ५७ दिनदेखि अनुसन्धान गरिरहेको छ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् भने १४ जना फरार रहेको प्रहरीको भनाइ छ।