काठमाडौँ । कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटोछरितो तथा प्रभावकारी न्यायसम्पादन प्रदान गर्न न्यायपालिका गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।
नेपाल कानून व्यवसायी परिषद्को ३० औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले योजनाबद्ध सुधार तथा बिशेष अभियान तथा न्यायधिश लगाएत सरोकारवालासवैको प्रतिवद्धता र लगनका कारण न्यायसम्पादनमा सकारात्मक उपलव्धीहरु देखा पर्न थालेको समेत बताउनुभयो ।
कोरोनाका कारण लामो समयसम्म पर्न गएको प्रभावको व्यवस्थापनको चूनौति रहेको र अदालतमा लामो समयदेखि न्यायधिशको दरबन्दी रिक्त रहेको अवस्थाकाबीच गत आर्थिक बर्षमा देशैभरका अदालतको मुद्दा फछर्यौटको अवस्था उत्साहपूर्ण रहेको उहाँले बताउनुभयो ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकाका लागि कानून व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले परिषद्को सिमित स्रोत साधानका बाबजुत गरेको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै परिषद्को कामकारवाहीलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सहयोगका लागि पहल गर्ने जिकिर गर्नुभयो ।