काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभएको छ ।
बिहीबार काठमाडौंमा नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता दिने भन्दै सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभएको हो ।
सुशासन स्थापित गरेपछि मात्रै मुलुकमा समृद्धिलाई तीव्रता दिन सकिने उहाले बताउनुभयो । उहाले भ्रष्टाचार नियन्त्रण, दण्डहीनता अन्त्य, अपराध नियन्त्रण, तस्करी र कालाबजारीलाई रोक्ने र त्यससँग सम्बन्धित अपराधीलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार र सुशासनको अभियानलाई रोक्ने सङ्गठित रुपमा प्रयास भइरहेको भन्दै उहाले सरकार विचलित नहुने जिकिर गर्नुभयो ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय समस्यालाई समाधान गर्न प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा उहाले जोड दिनुभयो ।
त्यस्तै पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले थप ७० वटा पिक आरोहणको व्यवस्थापनको जिम्मा दिन माग गर्नुभयो । कार्यक्रममा सुदूरपश्चिमका हिमालको विवरण समेटिएको ‘सैपाल हिमाल’ नामक पुस्तकको लोकार्पण गरिएको थियो ।