काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जस जसको नाम आएको छ छानबिनका लागि किन डराएको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको नियमित बैठक शुरु हुनुअघि नै सभापति लामिछानेले छानबिन गर्न किन डराएको भनी सरकारलाई प्रश्न गरे । उनले भने, ‘भ्रष्टाचारका विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरु खुसुरखुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसले आरोप लाग्न बाँकी रहेको होस् ।
तीमात्र हैन राज्यका निकायहरुको नाम यसरी आइरहेको छ अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरुको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन । दिउँसो, दिनदहाडै, दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरु आइरहेका छन् र यहाँ मुछिएका मान्छेहरु हेर्नुहोस्, यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ?
उनले कसैको पनि विश्वास गर्ने वातावरण नभएको भन्दै अगाडि भने, ‘यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ । जुन जुन निकायहरु यसमा लागिपरेका छन् कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले जस जसको नाम आएको छ तिनलाई छानबिनकोसम्म दायरामा ल्याउन नहुने, सोधपुछसम्म गर्न नहुने गरी किन डराएको हो ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ?