काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पुर्ण रुपमा सहयोग गर्ने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले निष्पक्ष पारदर्शी र स्वतन्त्र ढंगले छानविन गर्न सरकारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् । उनले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई बचाउन नहुने जिकिर गरे । उनले आरोप लगाएकै भरमा दोषी नहुने भन्दै आफ्नो नाम परे पनि बयानका लागि जाने बताए ।
त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको पहरो तानिए पनि अनुसन्धानबाट पछि हट्न नहुने बताए । उनले यस प्रकरणमा नाम आएकाले प्रहरी समक्ष गएर बयान दिएर अनुस्न्धानमा सघाउनुपर्नेमा जोड दिए । यस्तै कांग्रेस सांसद रामहरी खतिवडाले निष्पक्ष छानविन हुनुपर्ने र बयानमा नाम आएकाहरुले पनि अनुसन्धानमा सहयोग गर्नुपर्ने बताए ।
त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले अनुसन्धान निष्पक्ष हुनुपर्ने र दोषीलाई कानून बमोजिम कारवाही गर्नुपर्ने धारणा राखे ।