काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतरका डा. शेखर कोइराला समूह सुशासनको अभियान लिएर जनतामाँझ जाने भएको छ । देशभर सुशासन खड्किएको अवस्थामा डा. कोइरालाले काँग्रेस सुशासनको मुद्दा लिएर देशभर जाने बताउनु भएको हो।
राजधानीमा केही संचारकर्मीहरुसँगको कुराकानीमा उहाँले आफ्नो पक्षको अबको योजना सार्वजनिक गर्नुभएको छ । काँग्रेसभित्रै सुशासन खड्किएको आवाज आइरहँदा डा.कोइरालाले सही लय समातेर देश दौडाहामा जाने संकल्प गरेको बताईएको छ ।
डा.कोइरालाले देशमा विदेशीको चलखेल बढी भएको भन्दै देश अप्ठेरो अवस्थामा रहेकोप्रति सजग हुन सबैलाई आह्वान समेत गर्नुभएको छ। डा.कोइरालाले कोशीको पक्षमा आफू संघीयताको पक्षमा रहेको भन्दै कोही प्रधानमन्त्री पनि संघीयतामा जान इच्छुक नरहेको बताउनुभयो ।
गगन थापा र आफूबीचको सम्बन्ध सुमधुर नै रहेको भन्दै उहाँले मुख्य मुद्दाहरुमा आफूहरु एकैठाउँमा रहेको जनाउनुभयो। शेखर–गगन समूहमा महामन्त्री गगनकुमार थापा पहिलेदेखि नै आक्रामक भएर देश दौडाहामा रहेका बेलामा अब शेखर पनि मध्यमार्गी योजना लिएर देश दौडाहामा जाने जनाईएको छ।
उहाँले आफू काँग्रेसलाई एक ढिक्का बनाउने योजनाका साथ देश दौडाहामा जाने समेत बताउनु भएको छ। बिहीबार मात्रै डा. शशांक कोइरालाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाका तर्फबाट सभापतिको उम्मेदवार बन्ने दाबी गरिरहँदा शुक्रबार नेता शेखर कोइरालाले आफू काँग्रेसलाई एक ढिक्का बनाउने अभियानमा देश दौडाहामा लाग्ने निर्णय गर्नुले पार्टीको १५औँ महाधिवेशनको अभ्यास शुरु भइसकेको आँकलन गरिएको छ । २०८२ सालभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्नका लागि आफूहरु जसरी पनि लाग्ने डा. कोइरालाको भनाई छ ।