काठमाडौँ। नेपाल चिकित्सक संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा विरामीहरूको उपचार गरिरहेको अवस्थामा साघातिक आक्रमण गरी ज्यानै जाने मनशायले गम्भीर घाइते बनाइएको घटनाका सम्बन्धमा संघले भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरेको छ ।
उक्त घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघ भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको व्यहोरा अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सन्जिब तिवारीद्धारा जारी विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
आन्दोलन कार्यक्रमहरु भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गरिने । आन्दोलनलाई सफल बनाउन देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई कार्यान्वयन गर्न गराउन सूचित गरिएको छ ।
भाद्र २७ गतेको सन्चो अस्पताल हेटौडामा घटाइएको सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने,देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ लाई अक्षरस पालना गराउनका लागि नेपाल सरकारका न्यायिक, अर्धन्यायिक सम्पूर्ण सुरक्षा, निकाय गृह मन्त्रालयलगायत सरोकारवाला सबैलाई स्वास्थ्य क्षेत्रको संवेदनशिलतालाई मनन गरी सचेतनामूलक कार्यक्रमहरू संचालन गरिनुपर्ने मागहरु गरिएको छ ।