काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका समस्या समाधानका लागि दलहरु बीच एकताको खाँचो रहेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले देशमा गम्भीर समस्या पैदा हुँदा राजनीतिक दलहरु बीच सहमति सहकार्य र एकताको माध्यमबाट सामना गर्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले पहिलो गठबन्धनबाट दोश्रो गठबन्धनसम्म आइपुग्दा केहि तिता मिठा कुरा भए पनि अहिले दलहरुबीच साझा समझदारी आवश्यक रहेको जिकिर गरे । उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको र यो एक हदसम्म कर्मकाण्डी नै रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अपराधी नछुट्ने र निर्दोष नफस्ने गरि अनुसन्धान गर्न निर्देशन दिएको र अव अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
उनले सम्पती शुद्धिकरण, राजस्व लगायत बेतिथी रहेका क्षेत्रलाई क्रमश सुधार गर्दै लाने र यसका लागि सदनको साथ आवश्यक रहेको औल्याए ।