काठमाण्डौं । सरकारले रेशम चौधरीलगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो।
मन्त्रीपरिषद्ले ५० प्रतिशत सजाय कटाई सजाय माफी मिनाहाको निवेदन दिएका रेशमलाल चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
उनका अनुसार बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा (महिलातर्फ) लमजुङ निवासी अनिता ढुंगानालाई नियुक्त गर्ने, क्यानडामा २०८० भदौ ५ गतेदेखि ९ गतेसम्म आयोजना हुने विश्व वातवारण सुविधाको ७ औं सभा तथा सम्बन्धित बैठकहरुमा अर्थमन्त्री डा। प्रकाशशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुन स्वीकृति प्रदान गर्ने, सिन्धुलीमाडी–भूमेस्थान–चकमके–उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।