काठमाडौं । १६ औं गठतन्त्रको दिवसको अवसरमा आम माफी पाएर रिहा भएका रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिएका छन् । जेलबाट रिहा भए लगत्तै संचारकर्मीहरुसगँ बोल्दै चौधरीले टीकापुर घटनाको पुनः छानबिन हुनुपर्नेमा जोड दिएका हुन् ।
रेशम चौधरीलाई लिन नागरिक उन्मुक्ति पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी सहित पार्टीका समर्थक, शुभेच्छुकहरू बाजा, फूलमाला सहित कारागार परिसर पुगेका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहट, थारुवान संघर्ष समितिको आन्दोलनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सोही घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगीले ज्यान गुमाएका थिए ।
त्यही घटनामा मुख्य दोषी ठहर गर्दै रेशम चौधरी सहित ११ जनालाई २०७५ फागुन २२ गते जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो।सोही घटनामा जन्मकैदको सजाय पाएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका चौधरी सोमबार रिहा भएका हुन्।