Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय


२, कात्तिक २०८०
  • 124
    SHARES
  • लयमा फकिँदै बन्दीपुरको होटल व्यवसाय

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।

    दसैँमा चिसो मौसम सुरु हुने भएकाले यहाँ पर्यटकको चहलपहल बढ्ने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधान बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसम बन्दीपुरको पर्यटनका लागि सिजन मानिन्छ । अब विस्तारै पर्यटकको चहलपहल क्रमशः बढ्दै जान्छ ।” 

    घुम्न मन पराउनेको बन्दीपुर गन्तव्यस्थल बनिरहेको प्रधानको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँमा घुम्न जाने धेरैको योजना हुन्छ, पोखरा वा चितवनतर्फ जानेहरु पनि बन्दीपुर आइरहेका हुन्छन् ।” आन्तरिक पर्यटकको अलवा यतिबेला बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ ।

    नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् । प्रधानका अनुसार यतिबेला बन्दीपुरमा चिनियाँ पर्यटक भित्रिने क्रम बढेको छ । उहाँले भन्नुभयो, “चिनियाँ पर्यटक प्याकेजमा यहाँ आउँछन्, काठमाडौँ आएका पर्यटक पोखरा जानु अगाडि बन्दीपुर बास बसेर मात्रै पोखरा जाने गरेका छन् ।”

    यो वर्षको वैशाखदेखियता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् । पर्यटन विकासको समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी चिनियाँ पर्यटक छन् । बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् ।

    बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको तथ्याङ्क छ । 

    गत वैशाखदेखि भदौसम्म बन्दीपुर आउने चिनियाँ पर्यटक एक हजार छ सय २२ छन् । वैशाखमा २२, जेठमा ३२, असारमा ९६, साउनमा छ सय ३० र भदौमा आठ सय ४२ चिनियाँ पर्यटक बन्दीपुर भित्रिएका थिए । चिनियाँ पर्यटकपछि बन्दीपुर आउनेमध्ये धेरै इटालीका छन् । इटालीका पाँच सय आठ जनाले बन्दीपुर भ्रमण गरेका छन् । 

    यस्तै जापानका ६२, स्पेनका चार सय २३, नेदरल्याण्डका ६७, फ्रान्सका एक सय पाँच, अमेरिकाका ४२, जर्मनीका ७७, डेनमार्कका आठ, पाकिस्तानका ३६, अष्ट्रेलियाका एक सय ३१, बेलायतका ४४, आयरल्याण्डका १३, दक्षिण कोरियाका ३०, बेल्जियमका २९, थाइल्याण्डका २६, ताइवानका ३४, स्वीटजरल्याण्डका २५, मलेसियाका ४७, होल्याण्डका १३, पोर्चुगलका ११, चेक रिपब्लिकका २६, इरानका ३३, भारतका चार सय ६४, ग्रिसका दश र अर्जेन्टिनाका ३१ जनाले बन्दीपुरको भ्रमण गरेका छन् । 

    बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानीज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । 

    बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ । गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन्छ । विदेशी पर्यटकलाई पनि सहज होस् भनेर विभिन्न भाषामा सामग्री तयार गरिएको हो ।” 

    विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले बताउनुभयो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ ।

    जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

    बन्दीपुरमा होटल सङ्घसँग आवद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतकास्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend