काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको पाँच महिनापछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय भएको केही दिनमा भारतले नक्सा जारी गरेको भएपनि नेपालले त्यो विषयमा कुनै एजेण्डा तय नगरी प्रधानमन्त्री भएको पाँच महिनापछि उनी पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।
आज दिउँसो १ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमार्फत प्रधानमन्त्री प्रचण्ड दक्षिणी छिमेकी मुलुक जान लागेका छन् । प्रचण्डसँगै भ्रमणमा ६ जना मन्त्री, मुख्यसचिव र ८ जना सचिवसहित भारत जानेछन् । भारतले प्रधानमन्त्रीको भ्रमण टोलीका लागि ४७ जनाको कोटा दिएको थियो ।
तर प्रधानमन्त्रीसँग जानेहरुको संख्या ११५ नाघ्ने स्रोतले बताएको छ । ४७ जनाभन्दा बढी पाहुनाको खर्च भारतले नव्यहोर्ने भएको छ । भारत भ्रमणमा जानेमध्ये २५ जना ‘उच्चस्तरीय’ को नाम मन्त्रिपरिषदले स्वीकृत गरेको छ । उनीहरुमध्ये प्रधानमन्त्रीको सचिवालयका मात्रै १० जना रहेका छन् । प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल, निजी चिकित्सक युवराज शर्मा भारत जाने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एकएक जना सुरक्षा गार्ड पनि प्रधानमन्त्रीको टीममा परेका छन् ।
मन्त्रिपरिषद्ले ५ जना मन्त्रीको भ्रमण स्वीकृत गरेको थियो । त्यसमा कृषिमन्त्री बेदुराम भुसाल थपिएको स्रोतले बतायो । भ्रमण टोलीमा समावेश मन्त्रीहरुमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम रहेका छन् ।
मुख्यसचिव शंकरदास बैरागी टोलीमा रहने छन् । भ्रमण टोलीमा समावेश ८ सचिवहरुमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका दिनेशकुमार घिमिरे, गृह मन्त्रालयका दिनेश भट्टराई, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मधुकुमार मरासिनी, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका गोविन्द शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केशव शर्मा, वन तथा वातावरण मन्त्रालयका रेवतीरमण पौडेल रहेका छन् ।