काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार १०औँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वय सुरेन्द्रराज आचार्य र महिन्द्रराय यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल समाजवादी पार्टीका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान आचार्य र यादवलाई मन्त्रीका नियुक्त गरेका थिए ।
यसपछि राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष नवनियुक्तमन्त्रीद्वय आचार्य र यादवले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका सचिव सागर आचार्यले जानकारी दिए ।
यो सँगै प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद् १० औँ पटक विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पुसमा एक, माघमा तीन, फागुनमा दुई, चैतमा एक र बैशाखमा तीनपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार ११ पुस, १०, १४ र २३ माघ, १४ र १६ फागुन, १७ चैत र ३, २१ र २४ वैशाखमा मन्त्रिपरिषद् गठन र विस्तार गरिएको हो ।