Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो


१३, मंसिर २०८०
  • 146
    SHARES
  • पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
    म्याग्दी । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । 
     
    भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताउनुभयो । उहाँका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो । 
     
    समुद्री सतहदेखि दुई हजार सातसय मिटर उचाइमा रहेको बेलढुङ्गाबाट देखिने सूर्योदय, दर्जन बढी हिमाल र ग्रामीणबस्ती जीवनशैली र भू–बनोटको अवलोकनका लागि आन्तरिक पर्यटकको आगमन उत्साहजनक रहेको भकिम्लीका स्थानीय पृथ्वीबहादुर पुनले बताउनुभयो । यहाँबाट देखिने चुरेन, गुर्जा, धौलागिरि, मानामाथि, नीलगिरि साउथ, नीलगिरि नर्थ, अन्नपूर्ण प्रथम, तिलिचोपिक, बराहशिखर, माछापुच्छे, गङ्गापूर्ण, लमजुङ हिमाल, मनास्लुलगायतका हिमाललाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । 
     
    बेलढुङ्गामा आउने पर्यटकलाई लक्षित गरेर बागलुङको ओखलेमा होमस्टे सञ्चालनमा रहेको छ भने भकिम्लीको मुसुङ र भुकभुकेमा समेत होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले म्याग्दीकोे भकिम्ली र बागलुङको ओखले हुँदै दैनिकरुपमा सयौँ जना बेलढुङ्गाको भ्रमणमा पुग्ने गरेको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । उहाँले भकिम्लीको शिरमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र बेलढुङ्गाको एकीकृतरुपमा विकास र प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको बताउनुभयो । 
     
    “पूर्वाधारले पर्यटक तानेको छ, यहाँ आएपछि पर्यटक मोहित बनेर फर्कने गरेका छन्, अब पर्यटकलाई यहाँ आएपछि खाना र बसोबासको सहज व्यवस्थापन मिलाउनेतर्फ हाम्रो ध्यान गएको छ, सडकलाई स्तरीकरण गर्ने र होमस्टे सञ्चालन गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । 
     
    हिमाल अगाडि पहाडको थुम्कोमा रहेको एक सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको ठाउँकारुपमा परिचित छ । समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर उचाइमा अवस्थित स्वर्गाश्रम प्राकृतिकरुपमा रमणीय र धार्मिक ऐतिहासिक महत्व बोकेको छ । यस क्षेत्रमा पछिल्लो समय प्रदेश र स्थानीय सरकारको सहयोगमा पदमार्ग, घेराबार, आश्रमस्थल मर्मत, भान्साघर निर्माण, प्रवेशद्वार निर्माणले चिटिक्क देखिएको छ । 
     
    आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट सङ्कलन भएको दान रकमबाट गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण गरिएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend