काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्दछ।
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले सुर्तीजन्य पदार्थको प्रयोगले ओठ, गिजा, जिब्रोमा घाउ भएर अल्सर हुन्छ र बिस्तारै मुखको क्यान्सर हुन्छ । तत्काल असर नदेखिए पनि यसले लामो समयपछि जटिल समस्या निम्ताउँछ ।
उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र सुन्ने शक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखा पर्ने बताए । निकोटिन, टार, कार्बनमोनोअक्साइड, एमनिया, रेडन लगायत केमिकल पाइने सूर्तीजन्य पदार्थका सेवनले ज्यान गुमाउनेको संख्यामा धेरै कमि आउन सकेको छैन ।
उनले अभिभावकले धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यमा श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु रोग, क्यान्सरलगायतका स्वास्थ्य जोखिम बढाउने बताए। उनले परिवारमा एक जनाले सुर्ती सेवन गरेको छ भने परिवारका अन्य सदस्यलाई त्यसको असर हुने बताए।
यस्ता सूर्तीजन्य पदार्थको सेवन किशोर, किशोरी, वृद्धवृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले खाने गर्छन् । कतिपयले कसैको रहरमा भने कतिपयले तनाव घटाउँछ भन्ने गलत मानसिकताका कारण यस्ता पदार्थको सेवन गरिरहेका छन् ।
नेपालले सन् २००३ मा सुर्तीजन्य पदार्थ रोकथामको अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको थियो। सन् २००६ मा नेपालले उक्त महासन्धि अनुमोदन गरेको आधारमा सन् २०११ मा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा निर्देशिका जारी भएको थियो।
स्वास्थ्य सूचना केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्तबहादुर केसीले सरकारले अनुमोदन गरेको नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय बहुक्षेत्रीय कार्ययोजना २०२१–२०२५ ले नेपालमा सन् २०२५ सम्ममा १५ वर्षमाथिका मानिसमा व्याप्त रहेको सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशतले कमी ल्याउन आह्वान गरेको जानकारी दिए।
विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिएको नसर्ने रोगको सर्वेक्षण अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ। तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छ।
धूमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धूमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वमा २२।३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्दछन्।