बुटवल । केहिदिन यता भारतले आफ्नो नयाँ संसदीय भवन उद्घाटनका क्रममा राखेको भारतीय नक्सामा नेपाली भूमि रुपन्देहीको लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो नक्सामा स्पष्टरुपमा राखेपछि विरोध हुँदै आएको छ । यसैक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भारत भ्रमणमा छन् ।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो देशका दुई जिल्लालाई समेटेर भारतले नक्सामा प्रकाशित गर्दा समेत बोल्नु नसक्नु नलायकपन र देशप्रति भाव नभएको टिकाटिप्पणी हुन थालेको छ । यसैक्रममा विहिबार राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला कमिटि रुपन्देहीले बुटवलमा र्याली निकालेर विरोध सभा गरेको छ ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सल्लाहकार तथा रुपन्देही जिल्ला अध्यक्ष बद्री आलमले प्रधानमन्त्री भारत जाँदा २ वटा घटना घटेको भन्दै नेपालको दुई जिल्लालाई भारतले आफ्नो नक्सामा प्रकाशित गर्दै नेपाली भूमिमाथि साम्राज्यवादको धावा बाल्दा समेत सरकार चुप लागेर बस्नु भारतसामू उदारता देखिएको आरोप लगाए ।
उनले, भारतको खुलेयाम ज्यादती बारेमा सरकारले कुनै प्रतिक्रिया दिन नसकेकोप्रति आक्रोश पोख्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको लिपुलेकलाई नक्सामा निकाल्न सफल भएपनि तर कार्यान्वयन गर्न नसक्नु भारतको दबाबमा परेको हुनसक्ने आशंका गरे । भारतिय विस्तारवादले नेपालमा आफ्नो साम्राज्य जमाउन खोजेको उल्लेख गर्दै नेपाली जनतामा देशभक्ती भावना भएकाले यदि भारतले यसैगरी दबाउन खोजे नेपाली जनता टाउकोमा कफन बाँधेर प्रतिवादमा उत्रने चेतावनी समेत दिए ।
नेपाल कम्युनिस्ट पार्टी मसालका प्रवक्ता लालचन्द पन्थले राष्ट्रघाती नागरिता विधेयक पास गर्नु नेपालका लागि कालो दिन भएको संज्ञा दिए । नेता पन्थले भारतले लुम्बिनी र कपिलवस्तुलाई आफ्नो भूमि भनेर राखेकोमा त्यसलाई तत्काल हटाउन माग गरे । अघिपछि हामी देशका राष्ट्रभक्ती हौं भन्नेहरु आज कहाँ छन् भनेर प्रश्न गर्दै खोक्रो राष्ट्रवादको नाराले देशको रक्षा कदापी नगर्ने जनाउँदै नागरिता विधेयक नेपालको हितमा नरहेको स्पष्ट पारे ।
उनले भने, राष्ट्रपतिले कसैको इसारामा उक्त नागरिता विधेयक पास गरेको वताउँदै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नक्सामा नेपाली भूमिलाई राखेको बिषयलाई उठाउन नसकेकोमा रोष प्रकट गरे ।